डाक्नेश्वरी नगरपालिकाको आफ्नै भवन



राजविराज ।

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको झण्डै छ करोड रुपियाँको लागतमा ५७ कोठे आफ्नै सुविधा सम्पन्न कार्यालय भवन तयार भएको छ । यसअघि भाडाको घरमा कार्यालय सञ्चालन हुँदै आएको थियो ।

सप्तरी निर्वाचन क्षेत्रनम्बर ३ का निर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्रकान्त चौधरीले निःशुल्क उपलब्ध गराउनुभएको ५ करोड मूल्य बराबरको १० कठ्ठा जग्गामा नगरपालिकाको कार्यालय भवन तयार भएको हो ।

नवनिर्मित भवनको एक समारोहका बीच प्रतिनिधिसभा सदस्य चौधरीले उद्घाटन गर्नुभएको छ । चौधरीले यसअघि पनि सो क्षेत्रमा हाटबजार, स्वास्थ्य संस्था, विद्यालय, प्रहरी चौकी, खानेपानी कार्यालय र खेलमैदानका लागि जग्गा दान गरी दानवीरको उपाधी पाउनुभएको छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादवले नगरपालिकाको आफ्नो भवन नहुँदा विगत लामो समयदेखि प्रतिमहिना ६० हजार घर भाडा तिरेर कार्यालयको कामकाज सञ्चालन हुँदै आएकोमा अब आफ्नै भवन हुँदा अनावश्यक खर्च घट्नुका साथै सेवा प्रवाहमा सहज हुने बताउनुभएको छ । नगर प्रमुख शिवनारायण साहले दाता चौधरीको सम्मान गर्दै नगरवासी सदा उहाँको अभारी रहने बताउनुभएको छ ।

कार्यक्रममा प्रदेशसभा सदस्य विदेश्वर यादव, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंह, रूपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार यादव, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अवधेश झा लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्