मेलम्ची खानेपानी आयोजनाको मर्मत ६० प्रतिशत सम्पन्न



सिन्धुपाल्चोक (नेस) ।

गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य ६० प्रतिशत सम्पन्न भएको छ । चैतभित्र काठमाडौं उपत्यकामा अस्थायीरूपमा भए पनि पानी लैजाने तयारीमा पुगेको मेलम्ची खानेपानी विकास समितिका डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो ।

चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले नेपाली सेनाको सहयोगबाट ढुङ्गा विस्फोट गराएर नदी सफाइ गर्ने काम ६० प्रतिशत काम सकिएको जनाएको छ । अस्थायीरूपमा काठमाडौंमा पानी ल्याउन मेलम्ची नदीको गेट १, ९ र ३८ मात्र प्रयोग हुने भएकाले मर्मतको काम अन्तिम चरणमा पुगेको पत्रकारसँग मुहानस्थलमा कुराकानी गर्दै कुँवरले जानकारी दिनुभयो ।

गेट नम्बर ३८ मा हाइड्रोलिक सिस्टम बिग्रिएकाले यसमा थप मर्मतको काम शुरू भएको र बाँकी गेटमा भएको क्षति हेरेर अस्थायीरूपमा पानी सञ्चालन गर्न नयाँ गेट जडान गर्ने गरी तयारी थालिएको उहाँले बताउनुभयो । मुहानमा खसेका ढुङ्गा माटो सफाइको काम सकिएकाले चैत मसान्तसम्म पानी काठमाडौं पठाउन सकिने समितिले जनाएको छ ।

गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्चीको पानी पिउने काठमाडौं उपत्यकावासीको सपना पर धकेलिएको छ । आगामी चैतसम्म काठमाडौं उपत्यकामा १७ करोड लिटर पानी दैनिकरूपमा वितरण गर्ने समितिको लक्ष्य छ तर वर्षा लागेसँगै फेरि चार महिना सुरुङ बन्द गर्नुपर्ने अवस्था रहेको कुँवरले बताउनुभयो । मुख्य प्रवेशमार्गमै ठूलो पहिरो गएकाले एसियाली विकास बैंक (एडीवी)ले पहिरो रोकथामका लागि अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

सुरुङमा थुपारिएको ६० हजार मेट्रिक टन गेग्रान माटो हटाइसकिएको जनाउँदै कुँवरले ब्लास्टिङको अन्तिम चरणमा पुगेको बताउनुभयो । ब्लास्टिङबाट निस्केको गेग्रान माटो बाटो बनाउन र डम्पिङ गरेर व्यवस्थित गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्