रेसुङ्गा विमानस्थलबाट वैशाखदेखि नियमित उडानको तयारी



गुल्मी ।

गुल्मी जिल्लाको गौरवको रूपमा निर्माण हुँदै आएको रेसुङ्गा विमानस्थलको धावन मार्ग कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका १० सिमीचौरस्थित रेसुङ्गा विमानस्थलको नियमित उडानको तयारी हुँदैछ ।

विमानस्थलको पछिल्लो अवस्था र नियमित उडानका लागि पूर्वमन्त्री प्रदीप ज्ञवालीसहित सरकारी टोलीले निरीक्षण गरेको छ । निर्माणधीन रेसुङ्गा विमानस्थलबाट आगामी वैशाखसम्म उडान गर्ने गरी काम अगाडि बढाइएको छ ।

निर्माणधीन रेसुङ्गा विमानस्थलको अन्तिम चरणका कामहरू तीव्ररूपमा अगाडि बढेका छन् । विमानस्थलबाट छिटोभन्दा छिटो नियमित उडान र पछिल्लो कामको अवस्थाबारे जानकारी लिनका लागि पूर्वमन्त्री गुल्मी क्षेत्र नम्बर–१ का सांसद प्रदीप ज्ञवालीसहित सरकारी टोलीले निरीक्षण गरेको छ ।

अहिले विमानस्थलको धावन मार्ग कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । भने टर्मिनल भवन रङ्ग रोगनसहितको काम अबको १५ दिनभित्र सम्पन्न हुने निर्माण व्यवसायी हरिकुमार श्रेष्ठले बताए ।

विमानस्थल निरीक्षणमा पुगेका ज्ञवालीसहितको सरकारी टोलीलाई रेसुङ्गा नगरपालिका १० का अध्यक्ष पदमप्रसाद अर्यालले विमानस्थलको पछिल्लो अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । धावन मार्गको कालोपत्रे गर्ने निर्माण व्यवस्थायीले विभिन्न कारण देखाएर निर्माण कार्यले गति लिएको थिएन ।
तर, अहिले भने विमानस्थलका अन्तिम चरण काम सम्पन्न हुन थालेका छन् । जिल्ला जिल्लामा विमानस्थल बनाऊँ भन्ने लहरको आधारमा विमानस्थल निर्माणको काम अगाडि नबढाएको विमानस्थल निरीक्षणका क्रममा ज्ञवालीले बताउनुभयो ।

गुल्मी जिल्लाको भौगोलिक अवस्था, नजिकका शहर पुग्न भोग्नुपर्ने अनेकौं कठिनाइहरू, बढ्दै गइरहेको आर्थिक गतिविधि, स्वास्थ्य उपचारलगायत विभिन्न आपतकालीन अवस्थामा नागरिकको सेवाका लागि विमानस्थल निर्माणको काम अगाडि बढाइएको ज्ञवालीले बताउनुभयो ।

विमानस्थलको अन्तिम चरणका कामले गतिलिएसँगै आगामी वैशाखबाट नियमित उडान गर्ने ठाउँमा पुगेको ज्ञवालीले बताउनुभयो । उहाँले नियमित उडानका लागि नागरिक उड्यन र विभिन्न प्राइभेट एयरलायन्सहरूसँग छलफल गरिरहेको बताउनुभयो ।

धावनमार्ग कालोपत्रेको क्रममा केही फिनिसिङ्ग नदेखिएकाले मिलाउन निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । विमानस्थल निर्माणको क्रम बाँकी रहेका काम छिटोभन्दा छिटो सम्पन्न गरेर हस्तातरण गर्न निर्माण व्यवसायीलाई उहाँले आग्रह गर्नुभयो ।

ज्ञवालीले छिट्टै सुरक्षा समितिबाट निर्णय गरेर सुरक्षाको आवश्यक प्रबन्धका लागि स्थायी रूपमा सुरक्षा व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्नुभयो ।
तम्घास देउरालीबाट विमानस्थलसम्म र विमानस्थलबाट राङवाससम्म पुग्ने मोटरबाटो कालोपत्रे गर्न बजेटको व्यवस्था गरिएको ज्ञवालीले बताउनुभयो । रेसुङ्गा विमान स्थलमा २०७५ साल जेठ २७ गते परीक्षण उडान पनि गरिएको थियो ।

तर, परीक्षण उडान सफल भए पनि अन्य कामहरू निकै सुस्त गतिमा हुँदै आएको थियो । धावन मार्गको निर्माणको कार्य रौताहा हरि हरि जेभीले ७ करोड ५ लाख रुपियाँमा गरिरहेको हो । टर्मिनल भवनको ४ करोड ५ लाखमा बिकोई श्रेष्ठ जेभीले काम गरिरहेको छ । विमानस्थलको अन्तिम चरणका कामसँगै व्यवस्थापनको काम अगाडि बढेको रेसुङ्गा निमानस्थलका सहायक आयोजना प्रमुख दिनेश परियारले बताउनुभयो । विमानस्थलको हालसम्म २४ करोड बढी रकम खर्च भएको छ । २०६३ सालमा विमानस्थलको शिलान्यास भए पनि २०७२ सालपछि निर्माणको कामले निरन्तरता पाएको हो ।

विमानस्थल ५२० मिटर लम्बाइ र २० मिटर चौडाइमा धावन मार्ग रहेको छ । कुल १७८ रोपनी जग्गामा विमानस्थलको एरिया छ । जसमध्ये ७८ रोपनी जग्गा व्यक्तिको र बाँकी जग्गा सार्वजनिक रहेको रेसुङ्गा निमानस्थलका सहायक आयोजना प्रमुख परियारले बताउनुभयो । रेसुङ्गा विमान स्थलका कारण १४ घर विस्थापित भएका थिए । विमानस्थल समयमै सम्पन्न भए गुल्मेली र छिमेकी जिल्लाहरूका नागरिकहरू सदियौंदेखि सिद्धबाबाको जोखिमपूर्ण अवस्था यात्रा गर्नुपर्ने बाध्यता अत्य हुने स्थानीयको अपेक्षा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्