विद्यालयलाई नै बनाइयो मतदानस्थल



हेटौंडा ।

विभिन्न दलले अधिवेशन वा अन्य राजनीतिक कार्यक्रमका लागि विद्यालयलाई नै रोज्ने गरेका छन् । यसो गर्दा विद्यार्थीको पढाइमा असर गर्ने भन्दै अभिभावक र शिक्षकले बारम्बार गुनासो गर्दै आएका छन् । तर, दलहरुले विद्यालयलाई नै रोज्ने छाडेका छैनन् ।

दलहरुको अटेरीपनलाई मकवानपुरमा त निर्वाचन आयोगले नै साथ दिएको देखिन्छ । हेटौंडा–४ को वासुदेव सभागृहको मतदानस्थल एक विद्यालयमा सार्ने निर्णय भएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।

वासुदेव सभागृह भत्काएर नयाँ भवन निर्माण भइरहेकाले उक्त मतदानस्थललाई हेटौंडा उपमहानगरपालिका–४ भुटनदेवी माध्यमिक विद्यालयमा सार्ने निर्णय भएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ । उक्त निर्णयलाई निर्वाचन आयोगले सदर गरिसकेको छ ।

स्थानीय तहको निर्वाचका लागि मकवानपुरको एक मतदानस्थल सार्ने र एक मतदानस्थल थपिने भएको छ । मनहरीमा एउटा मतदानस्थल थप गर्ने निर्णय भएको छ । मनहरी गाउँपालिका–६ मा मतदानस्थल थप गर्ने निर्णय भएको हो । भौगोलिक अवस्था र मतदाताको संख्याका आधारमा उक्त मतदानस्थल थप गर्ने निर्णय भएको थियो । यससँगै मकवानपुरमा मतदानस्थलको संख्या १ सय ६५ पुगेको छ । यसअघि मकवानपुरमा १ सय ६४ वटा मतदानस्थल थिए ।

निर्वाचन कार्यालय मकवानपुरले यसपटक मतदान केन्द्र पनि थपिने जनाएको छ । यसपटक मकवानपुरमा मतदाता संख्या वृद्धि भएकाले मतदान केन्द्र थप गर्ने तयारी भएको हो । २०७४ सालको निर्वाचनमा २ सय ९५ मतदान केन्द्र रहेको मकवानपुरमा यसपटक ३ सय २५ मतदान केन्द्र कायम गर्ने तयारी भएको छ । २०७४ सालको निर्वाचनमा मकवानपुरका १ सय ६५ मतदानस्थलमा २ सय ९५ मतदान केन्द्र कायम गरिएको थियो । मकवानपुरमा यसपटक झन्डै ४० हजार मतदाता थपिएका छन् ।

जिल्लामा यसपटक ३९ हजार ९ सय ४६ मतदाता थपिएको जिल्ला निर्वाचन व्यवस्थापन समितिले जनाएको छ । यससँगै जिल्लामा कुल मतदाता संख्या २ लाख ९५ हजार ५ सय ५० पुगेको छ । जसअनुसार इन्द्रसरोवर गाउँपालिकामा १२ हजार ४ सय ९५, कैलाश गाउँपालिकामा १४ हजार ६ सय २०, थाहा नगरमा ३२ हजार ३ सय १६, बकैया गाउँपालिकामा ३० हजार १३, वागमती गाउँपालिकामा २२ हजार ९०, भीमफेदी गाउँपालिकामा १७ हजार ४ सय ४७, मकवानपुरगढी गाउँपालिकामा १९ हजार १ सय ५०, मनहरी गाउँपालिकामा २६ हजार ७ सय ५१ र राक्सिराङ गाउँपालिकामा १५ हजार ८ सय ७३ मतदाता छन् ।

यसअघि २०७४ सालको निर्वाचनमा मकवानपुरमा २ लाख ५५ हजार ६ सय ४ मतदाता थिए । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा मकवानपुरमा २ लाख २७ हजार ७ सय ५९ मतदाता थिए ।

प्रतिक्रिया दिनुहोस्