जग्गाको नापजाँच डिजिटल प्रविधिबाटै !



मुगु ।

हिमाली जिल्ला मुगुमा रहेको नापी कार्यालयले जग्गाको नापजाँच अब डिजिटल प्रविधिबाट गर्ने भएको छ । कार्यालयले औपचारिक कार्यक्रमको आयोजना गरी नापी कार्यालय मुगुबाट सेवा प्रवाह हुने महत्वपूर्ण सेवाहरू डिजिटल प्रविधिबाटै हुने जनाएको हो ।

टेस नक्सा प्रिन्ट, डिजिटल प्रविधिबाट बिल्यु प्रिन्ट, कित्ताकाट, जग्गा एकीकरण र नक्सा प्रिन्ट जस्ता सेवाहरु अब डिजिटल प्रविधिबाट सेवा प्रवाह गरिने भएको छ । देशका ७७ जिल्लामा जग्गाको नापजाँच डिजिटल प्रविधिबाट भएको जानकारी दिँदै मुगुमा पनि डिजिटल प्रविधिबाट जग्गाको नाप जाँच शुरु गरिएको नापी कार्यालका सूचना अधिकारी कृष्णप्रसाद पाण्डेले बताउनुभयो ।

नापी कार्यालय मुगुले डिजिटल प्रविधिबाट सेवा सुचारु गरेर सेवामा गुणस्तर कायम गर्न, सेवा प्रवाह छिटो–छरितो सरल बनाउन, सेवाग्राहीको सेवालाई मध्यनजर गर्दै जग्गामा हुने विवाद समाधान गर्ने डिजिटल प्रविधिबाट जग्गाको नापजाँच र साँध सँधियार छुट्याउने काम अगाडि बढाएको उहाँको भनाइ छ । यसबाट जग्गाको नापजाँच गर्दा थप वैज्ञानिक, तथ्यपूर्ण र पारदर्शी हुने र यसबाट जमिनको साँध–सिमाना यथार्थ हुने भएकाले हाल प्रचलित नापी प्रणालीको जस्तो विवाद नहुने नापी कार्यालय मुगुका प्रमुख विनीता शाही बताउनुहुन्छ ।

विगतका दिनहरुमा जग्गाको नापजाँच गर्दा साँध–सँधियारले हचुवा तरिकाले देखाएको भरमा साँध लगाउने र चार किल्ला तोक्ने गरिएको भए पनि अब त्यस्तो नहुने उहाँको कथन छ । ‘डिजिटल पद्धतिको नापजाँचले विगतमा गरिएको नापी नक्साले कतिपय अवस्थामा जग्गाको हाल साविकको अवस्था अहिले नमिल्न सक्छ, कतिपय स्थानमा यो मिलेको छैन, यस्तोमा भएको विवाद डिजिटल प्रविधिबाट अब निरुपण हुन्छ ।’ कार्यालय प्रमुख शाही भन्ुभयो । प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले यो प्रविधिबाट साँध सिमानामा देखा परेका विवाद हट्ने बताउनुहुन्छ । विगतमा गरिने नाँपजाँच केही झन्झट भएकाले डिजिटल पद्धतिबाट नापजाँच शुरु गरिएको उहाँको कथन छ ।

हप्तौं दिन लगायर जग्गाको कित्ताकाट र घरजग्गा पास गर्ने सर्वसाधारण अब डिजिटल माध्मबाट घर जग्गाको कारोवार हुने भएपछि नापी र मालपोत कार्यालयको सास्ती बेर्होनु नपर्ने मुगु मालपोतका वकिल जितेन्द्र भाम बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्