‘नागरिकको स्वास्थ्य सरकारको पहिलो प्राथमिकतामा’



लमजुङ ।

आम जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकारले नीति तथा कार्यक्रम तय गरेको गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री दोबाटे विश्वकर्माले बताउनुभएको छ । लमजुङको सुन्दरबजारमा रहेको नमुना सामुदायिक अस्पतालको ११औं साधरणसभा एवं सातौं अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

नागरिकको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण विषय भएको भन्दै मन्त्री विश्वकर्माले विश्वव्यापी कोभिड महामारीको प्रभाव परिरहेका बेला विकास निर्माणभन्दा जनताको जिउधनको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नु सरकारको दायित्व भएको उल्लेख गर्नुभयो । विकास निर्माण दुई/चार वर्षपछि गरे पनि फरक नपर्ने उहाँको भनाइ छ ।

गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका सबै गरिब, विपन्न समुदायमा पनि स्वास्थ्यको सहज पहुँच पुर्याउनका लागि विभिन्न कार्यक्रमहरु ल्याएको विश्वकर्माले उल्लेख गर्नुभयो । महिलाको स्तन क्यान्सर, पाठेघर क्यान्सर, दीर्घ रोग, निःशुल्क रगत उपलब्धतालगायतका कार्यक्रम ल्याएको र केहि कार्यक्रम लागू उहाँको कथन छ । सरकारले विकास निर्माणका लागि आधारभूत संरचना निर्माण, समृद्धिका आधारभूत आवश्यकताहरुको पहिचान गरी आवश्यकताअनुसारको नीती तथा कार्यक्रमका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री विश्वकर्मा बताउनुहुन्छ ।

विश्वव्यापी कोरोना महामारीका बेला कोभिड रोकथाम, उपचार र व्यवस्थापनका लागि नमुना सामुदायिक अस्पतालले पुर्याएको सहयोग र सहकार्यको समेत मन्त्री विश्वकर्माले प्रशंसा गर्नुभएको थियो । समुदायबाट सञ्चालित अस्पताल सञ्चालनका लागि आइपरेका चुनौती सामना गर्न र अझै अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रदेश सरकार थप सहकार्यका लागि तयार रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्