इलाममा कृषि क्याम्पस सञ्चालनमा : एक ब्याचका लागि ४८ जनाको कोटा निर्धारण



इलाम ।

इलाम नगरपालिकाले इलाम सामुदायिक कृषि क्याम्पस सञ्चालनमा ल्याएको छ । यो क्याम्पस पूर्वाञ्चल विश्वविद्यालयको पहिलो सामुदायिक र स्थानीय तहले सञ्चालन गरेको पहिलो कृषि क्याम्पस हो । यस क्याम्पसमा आउँदो चैत १० गतेबाट पढाइ हुने गरी बीएससी एग्रिकल्चर कक्षा शुरु हुन लागेको छ । इलाम नगरपालिका–९ मा बसपार्क सञ्चालनका लागि निर्मित नयाँ भवनमा क्याम्पस स्थापना गरेको हो ।

२७ रोपनी जमिनमा फैलिएको क्याम्पसमा आठ सेमेस्टरमा पढाइ हुने गरी जेनेरल बीएससी एजी पढाइ हुनेछ । ‘एक ब्याचमा ४८ जनाको कोटा निर्धारण गरिएको छ । फागुन २९ गतेसम्म भर्ना म्याद तोकिएकोमा हालसम्म इलामसहित विभिन्न जिल्लाबाट गरेर ३० जनाले भर्ना गरिसकेका छन्’, क्याम्पस प्रमुख डा. योगेन्द्रमान श्रेष्ठ भननुहुन्छ– ‘८ सेमेस्टरमध्ये ७ सम्म जेनेरल कृषि पढाइ हुने र आठौं सेमेस्टर पूरै इन्टर्नसिप हुनेछ ।’

दुई जनाको दरबन्दी रहेको क्याम्पसमा हाल आंशिकमा ३ जना, ९ जना एडजंक प्रोफेसर, ५ जना भिजिटिङ प्रोफेसर रहेका उहाँको कथन छ । क्याम्पसमा यस कोर्स सक्दा सम्म एकजना विद्यार्थीका लागि ४ लाख रुपियाँ निर्धारण गरिएकाले यहाँको क्याम्पसमा पढ्न विद्यार्थीका लागि आर्थिक हिसाबले सस्तो क्याम्पस रहेको इलाम नगरपालिकाका मेयर महेश बस्नेतले बताउनुभयो । विद्यार्थीले ७० हजार रुपियाँ तिरेर भर्ना हुन पाउँछन् ।

पहिलो समेस्टरभरमा १ लाख ४० हजार रुपियाँ तिर्नुपर्नेछ । त्यसपछिका प्रत्येक सेमेस्टरमा बराबरी शुल्क बुझाउनुपर्छ । विद्यार्थीले शुरुमै २० हजार रुपियाँ धरौटी राख्नुपर्नेछ । धरौटी रकम पछि फिर्ता हुनेछ । पढाइका लागि क्याम्पसमा २ प्रयोगशाला स्थापना गरिएको छ । नगरपालिकाले क्याम्पस स्थापनाका लागि २५ लाख रुपियाँभन्दा बढी खर्च गरेको छ । विशेष गरी इलामसहित पूर्वका विद्यार्थीलाई लक्षित गरेर क्याम्पस सञ्चालन गरेको उहाँको भनाइ छ ।

उद्घाटन कार्यक्रममा चार जना जग्गादाता शिवप्रसाद गौतम, विष्णुमाया गौतम, मानबहादुर खड्गी र कृष्णप्रसाद दाहाललाई नगरपालिकाले सम्मानसमेत गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष जसबहादुर लुङ्गेलीले बताउनुभयो । क्याम्पसको संविधानसभाका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले शुक्रबार उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्