गोंगबु आवासमा पाण्डव विजयी



काठमाडौं ।

गोंगबु आवास क्षेत्र सुधार समितिको शनिबार भएको निर्वाचनमा पाण्डवकुमार श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले १ सय ४१ मत प्राप्त गर्नुभएको थियो भने प्रतिद्वन्द्वी भोला सुवेदीले १ सय १९ मत प्राप्त गर्नुभएको थियो । १ मत बदर भएको थियो । जम्मा ३ सय ६५ मतदाता रहेकामा २ सय ६१ मत खसेको प्रमुख निर्वाचन अधिकृत विकास भट्टराईले बताउनुभयो ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफूले स्थानीयवासी सबैलाई समेटेर आफूले यस क्षेत्रको विकास गर्ने र गोंगबु क्षेत्रभित्र विकासको लहर ल्याउने आश्वासन दिनुभयो । निर्वाचन समितिमा कानुन व्यवसायी अमिता गौतम र पत्रकार यदुप्रसाद भट्ट हुनुहुन्थ्यो ।

समितिको उपाध्यक्षमा रोशन श्रेष्ठ, महासचिव तीलबहादुर अधिकारी, सचिव दीपक पौडेल र कोषाध्यक्षमा लक्ष्मण ढुंगाना निर्विरोध निर्वाचित हुनुभएको छ । यसै गरी समितिका सदस्यमा कीर्तिरमेश जोशी, प्रकाश श्रेष्ठ, रेनु दुलाल, पुरुषोत्तम मजर्हन, नारायण नेपाली र गोपीनाथ अधिकारी पनि निर्विरोध निर्वाचित हुनुभएको छ । समिति २०५३ सालमा स्थापना भएको निवर्तमान अध्यक्ष महेश्वरकुमार श्रेष्ठले जानकारी दिनुभयो । समितिअन्तर्गत चार किलोमिटर सडक रहेको छ । रजत महोत्सव मनाउने क्रममा रहेको समितिले सो सडक क्षेत्रमा एक सय ९ वटा सीसी क्यामरा जडान गरिसकेको छ ।

त्यसै गरी मेलम्ची पाइप लाइन तथा भूमिगत केवलको काम भइरहेको निवर्तमान सचिव अनिल श्रेष्ठले जानकारी दिनुभयो । उहाँले महिनाको एक दिन फोहोरमैला व्यवस्थापनमा समय दिएर समूह अघि बढेको बताउनुभयो । निवर्तमान सदस्य पुरुषोत्तम महर्जनले आफूले सडक बत्ती, खानेपानी तथा सीसी टिभीको जिम्मेवारी समूहमा रहेर राम्रोसँग कार्यसम्पादन गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्