जालसाजी आरोपित वडाध्यक्षसहित ७ पक्राउ



संखुवासभा ।

संखुवासभाको भोटखोला गाउँपालिका–४ की ७५ वर्षीया विममाया तामाङको जग्गा जालसाजी गरेको आरोपमा वडाध्यक्षसहित ७ जनालाई प्रहरीले शनिबार सार्वजनिक गरेको छ ।

जग्गा जालसाजी आरोपमा संलग्न भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष ३५ वर्षीय किङसाङ भोटे, सोही वडाका स्थानीय ३० वर्षीय सुरेन्द्र तामाङ, २१ वर्षीय कल्पना भोटे, २० वर्षीय ङिमा लाजुङ भोटे, मालपोत कार्यालय खाँदबारीका नायव सुब्बा महेन्द्रकुमार पराजुली, लेखापढी व्यवसायी अनिश गुरुङ र चैनपुरका ३५ वर्षीय पासाङ शेर्पालाई प्रहरीले सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले आरोपितहरूलाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान गरिरहेको बताउनुभयो । प्रहरी नायव उपरीक्षक सुवेदीले भन्नुभयो – ‘भोटखोला–४ की कान राम्रोसँग नसुन्ने, आँखा राम्रोसँग नदेख्ने अनपढ ७५ वर्षीया वृद्धालाई वृद्धभत्ता कार्ड बनाइदिने भन्दै सदरमुकाम खाँदबारी ल्याई वडाध्यक्षसहितको समूहले मालपोत कार्यालयमा लागि जग्गा जालसाजी गरी २७ रोपनी क्षेत्रफल रहेको २ कित्ता जग्गा ३ जना आफन्तका नाममा पास गराएको देखिएको छ ।’

उनीहरूले फागुन २ गते मालपोत कार्यालय खाँदबारीमा स्व.दलबहादुर तामाङको नाममा रहेको ६ कित्ता जग्गा विममायाको नाममा नामसारी गरी सोही दिन नामसारी गरिएका जग्गामध्ये कित्ता नं. २८० को जग्गा वडाध्यक्ष भोटेको तर्फबाट कल्पना भोटे र सुरेन्द्र तामाङको तर्फबाट आफ्नै श्रीमती ङिमालाजुङ भोटेको नाममा संयुक्त रुपमा रजिष्ट्रेसन पास गराएका थिए । त्यस्तै २७५ कि.नं. को जग्गा पासाङ शेर्पाको नाममा रजिस्ट्रेसन पास गराएका थिए ।

जालसाजी र कागज किर्ते गरेको आरोपमा वडाध्यक्ष भोटेसहित ७ जनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको थप प्रहरी नायव उपरीक्षक सुवेदीले बताउनुभयो । उक्त जग्गा एकलाख रुपियाँ दिएर पास गरेको भनिए पनि वृद्धा तामाङलाई वृद्धभत्ताबापत भनेर २० हजार रुपियाँ दिएको रहस्य खुलेको छ । उक्त जग्गा पास गर्न जनप्रतिनिधिदेखि कर्मचारीहरू समेतको मिलेमतो देखिएको प्रहरीको भनाइ छ । पक्राउ परेका भोटे नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्