सामुदायिक विद्यालयले लगानीअनुरूप नतिजा दिनुपर्छ : मेयर शाक्य



काठमाडौं ।

काठमाडौंका सामुदायिक विद्यालयहरूको गुणस्तर वृद्धि गर्न काठमाडौं महानगरपालिकाले सक्दो लगानी गरिरहेको दाबी गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले त्यसको सकारात्मक नतिजा देखिनुपर्नेमा जोड दिनुभएको छ ।

काठमाडौंको मुटु न्युरोडमा रहेको हिमालय माध्यामिक विद्यालयको हीरक जयन्तीको अवसरमा शनिबार आयोजित समारोहमा बोल्दै मेयर शाक्यले सामुदायिक विद्यालयहरूको लगानी अनुरूपको नतिजा नदिए शिक्षा क्षेत्र स्थानीय तहको मातहतबाट फिर्ता जान सक्ने टिप्पणी गर्नुभयो । उहाँले कामपा निजी विद्यालयभन्दा सामुदायिक विद्यालय उत्कृष्ट रहेको प्रमाणित गर्न आतुर रहेको जिकिर गर्दै यसका लागि विद्यालय व्यवस्थापन र प्रशासनले पनि विशेष ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

कार्यक्रममा उहाँले प्राथमिक विद्यालयका शिक्षकशिक्षिकाको पारिश्रमिक १३ हजार ५ सयबाट बढाएर १५ हजार पुर्याउने लक्ष्य प्राप्तिका लागि सरकारले अनुदान नदिए कामपा आफैंले प्रयास गर्ने आश्वासन पनि दिनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिल्लीरत्न शाक्यले कोरोना संक्रमणले विद्यालयहरू बन्द भएको बेलामा अनलाइन कक्षा सञ्चालन गर्ने सामुदायिक विद्यालयहरूमध्ये हिमालय मावि पहिलो भएको दाबी गर्नुभयो ।

उहाँले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि कामपाको सहयोगमा वर्षमा एकपटक काठमाडौंका सामुदायिक विद्यालयका शिक्षकशिक्षिकाहरूलाई जापानको शैक्षिक भ्रमण गराउने प्रयास भइरहेको जानकारी दिनुभयो । कार्यक्रममा विद्यालयको भौतिक सुधारमा सहयोग पु¥याउने व्यक्ति तथा विभिन्न संघसंस्थालाई सम्मान गरिएको थियो ।

त्यसै गरी कोरोना महामारीमा अनलाइन कक्षा सञ्चालन गर्ने शिक्षकशिक्षिकाहरूलाई पनि कदपत्र प्रदान गरिएको थियो । कार्यक्रममा विद्यालयको स्मारिका ‘हिमालय एट अ ग्लान्स’ सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्