प्याब्सन महाधिवेशन चैत ९ देखि



काठमाडौं, (नेस) ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को १५ औं राष्ट्रिय महाधिवेशन आउने चैत ९ र १० गते हुने भएको छ । यस संस्थाले बिहीबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार महाविधेसन काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । अर्गनाइजेसनका अध्यक्ष टीकाराम पुरीका अनुसार सीप, संस्कार र प्रविधिसहितको शिक्षा, दक्ष जनशक्ति आजको आवश्यकता भन्ने मूल नाराका साथ महाधिवेशन आयोजना गर्न लागेको हो ।

महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुहुनेछ । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्याब्सनले सुनसरी जिल्लाको रामधुनी नगरपालिकामा निर्माण गरेको प्याब्सन सामूहिक बस्तीको चैत १ गते उद्घाटन गरिनेछ । कोशी बाढी पीडितको समुदायका लागि रामधुनी नगरपालिकाले उपलब्ध गराएको एक विघा जग्गामा उक्त बस्ती बनाइएको छ ।

एक करोड पचास लाख रुपियाँ लगानीमा निर्मित उक्त बस्तीमा २५ वटा घर छन् । प्याब्सनका सदस्य विद्यालयको योगदानबाट उक्त बस्ती निर्माण गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष पुरीले जानकारी दिनुभयो ।

महाधिवेशनमा मुलुकभरबाट दुई हजार २ सय ४६ जना प्रतिनिधिको सहभागिता रहनेछ । प्याब्सनमा मुलुकभरबाट ५ हजार सदस्य विद्यालयले सदस्यता नविकरण गरेको पनि पुरीले जानकारी दिनुभयो । यसपटक संगठनले विद्युतीय प्रणालीबाट मतदान गर्ने भएको छ । महाधिवेशनले २७ जना पदाधिकारी र ३९ जना सदस्य चयन गर्नेछ ।

यसपटक कुनै पनि उम्मेदवारले प्यानल बनाएर निर्वाचन लड्न नपाउने निर्णय पनि प्याब्सनले गरेको छ । सकेसम्म सर्वसहमतिमै नेतृत्व चयन हुने पनि प्याब्सनले जनाएको छ ।
महाधिवेशनमा सीप, संस्कार र प्रविधियुक्त शिक्षाका लागि उचित पाठ्यक्रम, पाठ्यपुस्तक, परीक्षा प्रणाली र समयानुकूल मूल्याङ्कन विधिको बारेमा छलफल गरिनेछ । साथै सूचना प्रविधिलाई हरेक विद्यालयमा अधिकतम प्रयोग गर्ने सन्दर्भमा पनि छलफल हुने अध्यक्ष पुरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्