गठबन्धन सबै तहका चुनावसम्म कायमै रहन्छ: प्रधानमन्त्री देउवा 

0
Shares

वीरगन्ज । 

नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवा अहिलेको सत्ता गठबन्धन आगामी सबै तहको चुनाव सम्म नै कायम रहने बताउनु भएको छ ।

वीरगन्जमा बिहीबार नेपाली काँग्रेस पर्साका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले पाच दलीय गठबन्धन चुनाव सम्म कायम रहने बताउनु भएको हो । काँग्रेस सभापति समेत रहेका देउवाले एक्लै चुनाव लड्दा कुनै पनि दलको बहुमत आउने अवस्था नदेखिएकाले आगामी तीनै तहको निर्वाचनमा काँग्रेसले गठबन्धनमा रहेका दलहरुसंग मिलेर चुनाव लड्ने बताउनुभयो ।त्यसैले गठबन्धनका अन्य सहयात्री दलहरू चिढ्याउने काम नगर्न नेता कार्यकर्ताहरुलाइ उहाँले निर्देशन पनि दिनुभयो ।

संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्न पनि गठबन्धनका दलहरू बिचको सहकार्य र एकता  आवश्यक रहेको देउवाले बताउनुभयो ।यसका साथै काँग्रेस पार्टी र देशको हितमा पनि गठबन्धनलाई कायम राख्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।एमसीसी परियोजना मुलुकको हितमा रहेको उहाँले जिकिर गर्नुभयो ।एमसीसी परियोजना ,  ऋणमा नभइ अनुदानमा आएको परियोजाना रहेको भन्दै प्रधानमन्त्री देउवाले यसले देशको विकासमा सहयोग पुग्नुका साथै रोजगारी पनि सृजना गर्ने बताउनुभयो ।

नेपाल , दुइ ठूला छिमेकी देशको बिचमा रहेको भन्दै उहाँले दुवै छिमेकीसँग नेपालले समदुरी र सन्तुलित सम्बन्ध राखेर अगाडि बढ्नु पर्ने बताउनुभयो ।कार्यक्रममा प्रधानमन्त्री देउवाले पर्साको पोखरीया नगरपालिकाका नगर प्रमुख दिपनारायण रौनियारलाई  काँग्रेस पार्टीको सदस्यता प्रदान गर्दै पार्टीमा प्रवेश गराउनुभयो ।कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य द्वय रमेश रिजाल र अजय चौरसीया , पुर्वमन्त्री सुरेन्द्र चौधरी , नवनिर्वाचित जिल्ला सभापति जनार्दन सिंह क्षेत्री , संविधानसभा सदस्य अनिल रुंगटा लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए । यसैबीच नेपाल घरेलु तथा साना उधोग महासंघको अधिवेशनलाई समेत प्रधानमन्त्री देउवाले वीरगन्जमा बिहीबार नै सम्बोधन गर्नुभएको छ ।