अवैध गाँजासहित धमाधम पक्राउ 


रामधन राई, खोटाङ । 

फागुन– २६, अवैध लागू औषध गाँजाको व्यावसायिक खेती तथा बिक्री गर्ने खोटाङका स्थानीय धमाधम पक्राउ परिरहेका छन् । गाँजा खेती तथा कारोवार गरिरहेका हलेसी क्षेत्रका स्थानीयलाई प्रहरीले गाँजासहित नै पक्राउ गरिरहेको हो ।

झन्डै ३३ केजी गाँजासहित पक्राउ परेका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ५१ वर्षीय युवराज राई र ३३ वर्षीय धिरज राईलाई बुधवार साँझ प्रहरीले सार्वजनिक गरेको छ । राई द्वयलाई इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले दुर्छिमस्थित बतासेघाटबाट गाँजासहित रङ्गेहात पक्राउ गरेको हो । बतासेघाट नजिकै पर्ने सुइटेखोलाको बगरमा बिक्री गर्न गाँजा लुकाएर राखेको छ भन्ने स्थानीयले दिएको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ ।

पक्राउ परेका दुवै जना विरुद्ध लागू औषध बेचबिखन तथा कारोबार महल अन्तरगत जिल्ला अदालतमा बुधवार मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जनाउनुभयो । दुवै जनालाई अनुसन्धानका लागि सात दिनको म्याद थप गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।यस्तै, गत भदौ–५ गते १५ केजी गाँजासहित सोही नगरपालिका–७ महादेविस्थानस्थित कात्तिकेका ५७ वर्षीय मगम राईलाई प्रहरीले उनको घरैबाट पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले उनलाई गाँजासहित पक्राउ गरेर मुद्दा चलाएको छ ।

लागू औषध उत्पादन गर्ने उद्योग नै सञ्चालन गर्दै आएका सोही नगरपालिका–१ बाहुनी डाँडाका २१ वर्षीय सुवास राई र २३ वर्षीय अविन नेपालीलाई गत असोज–२८ गते उद्योगबाटै पक्राउ गरेको थियो । पक्राउ परेका राई र नेपालीको उद्योगबाट ठूलो मात्राका लागूऔषधको कच्चा पदार्थ बरामद गरिएको थियो । पक्राउ परेका दुवै जना विरुद्ध प्रहरीले मुद्दा चलाउनुका साथै बरामद गरेको कच्चा पदार्थ नष्ट गरेको थियो ।

यस्तै गत चैत–४ गते सोही नगरपालिकाको वडा नं.–७ राटमाटेका केवी भनिने कुलबहादुर राईको घरबाट प्रहरीले २० केजी गाँजा बरामद गरेको थियो । गाँजा कारोबारमा संलग्न राई हाल फरार रहेका र उनीविरुद्द अदालतमा मुद्दा दर्ता गरेर उनको खोजी कार्य जारी रहेको जनाइएको छ ।हलेसी क्षेत्रका स्थानीय बासिन्दाले अवैध रूपमा गर्दै आएका अवैध गाँजा खेती नष्ट गर्न तथा बिक्री वितरणमा रोक लगाउन जिल्ला प्रहरी कार्यालय खोटाङले अभियान नै सञ्चालन गर्दै आएको छ ।