सुनचाँदी व्यवसायी मैत्री कानुन बनाउन माग


काठमाडौं ।

सुनचाँदी व्यवसायीहरूले व्यवसाय सञ्चालनका लागि प्रष्ट नीति नियम तर्जुमा गर्न सरकारसँग आग्रह गरेका छन् ।
महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले बुधबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठसँग भेटगरी प्रष्ट नीति बनाउन आग्रह गरेको हो ।

सुनचाँदी व्यवसाय र यसको कारोबारका लागि हालसम्म पनि प्रष्ट नीति बन्न नसक्दा व्यवसाय सञ्चालनमा बाधा पुगेको भन्दै महासंघका अध्यक्ष शाक्यले सरकारले सुनचाँदी कारोबारको निर्देशिका बनाएमा त्यसलाई अक्षरशः पालना गरी अगाडि बढ्न व्यवसायीहरू तयार रहेको बताउनुभयो ।आफूहरूले दशौं वर्षदेखि यस विषयमा आवाज उठाउँदै आएको भए पनि हालसम्म त्यसको संवोधन हुन नसकेको उहाँको भनाइ छ ।

सुनचाँदी व्यवसायीसँगको भेटका क्रममा महानिर्देशक श्रेष्ठले कुनै पनि पेसा व्यवसाय सञ्चालनका लागि प्रष्ट नीति नियम आवश्यक पर्ने कुरा स्वीकार गर्दै सुनचाँदी व्यवसाय, व्यवसायी र आम उपभोक्ता सरोकारलाई समेत समेट्ने गरी नीति बनाउन आफूले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।यसका लागि विभिन्न सरकारी निकायमसँग समन्वय गरेर अगाडि बढ्ने विश्वास उहाँले दिलाउनुभयो ।

भेटका क्रममा व्यवसायीहरूले सुनचाँदी व्यवसायीले भोग्दै आउनुपरेका समस्याका बारेमा महानिर्देशक श्रेष्ठको ध्यानाकर्षण गराएका थिए ।त्यसक्रममा महासंघका निवर्तमान अध्यक्ष मोहन सुनार, वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली, प्रथम उपाध्यक्ष मोहन काजी शाक्य, महासचिव धर्मशुन्दर बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, मधेश प्रदेश सभापति रामजी साह लगायतका व्यवसायीको सहभागिता रहेको थियो ।

प्रष्ट नीतिको अभावमा मुनाफा, ज्यालाजतीजस्ता विषयमा अस्प्रष्टता देखिएको छ । जसका कारण व्यवसायीहरू बारम्बार अप्ठ्यारो पर्ने गरेका छन् । सरकार र व्यवसायीबीच सीघ्र नीति निर्माण गरी लागु गर्ने सहमति धेरै वर्ष अगाडि नै भएको भए पनि हालसम्म त्यसको कार्यान्वयन हुन सकेको छैन ।