किर्ते कागजपत्रको आधारमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी 


सञ्जय कार्की, रौतहट ।

प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिन यहाँको एक नगरपालिकाका नायब सुब्बाले कार्यपालिका सदस्यको किर्ते हस्ताक्षर गरेको आरोप लागेको छ ।

ईशनाथ नगरपालिकाको शिक्षा शाखाका नायब सुब्बा नन्द किशोर गुप्ताले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिन उप प्रमुख हुस्ने आरा र वडा अध्यक्ष इद मोहम्मदको नक्कली हस्ताक्षर सहित कार्यपालिका बैठकको निर्णय मन्त्रालयमा बुझाएपछि उनलाई मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकेको छ । गुप्ताले ईशनाथ नगरपालिकाका उप प्रमुख हस्ने आराको अध्यक्षतामा बसेको बैठकको किर्ते निर्णय गरेर मन्त्रालयमा पत्राचार गरेको आरोप रहेको छ ।

नगरपालिकाको लेटरप्याड, छाप र हस्ताक्षर किर्ते गरी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरेको आधारमा मन्त्रालयले कार्यरत प्रमुख प्रशासकीय अधिकृत उपसचिव खिम बहादुर भुजेल लाई सरुवा गरेर नगरपालिकाकै शिक्षा शाखाका नायब सुब्बा गुप्ता लाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको खुलेको हो ।

नगर प्रमुख सन्तोष मेहताले प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएपछि आफूहरू मन्त्रालयमा आएर कागजपत्र हेर्दा सबै किर्ते गरेको पाए भन्दै उहाँले राष्ट्रसेवक कर्मचारीले किर्ते गरेको विषयमा कानुनी प्रक्रियामा जाने बताउनु भयो । दुई महिना पहिले मात्रै ईशनाथ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका उपसचिव भुजेललाई रौतहटकै कटहरिया नगरपालिकामा सरुवा गरेर नायब सुब्बा गुप्ता लाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकेपछि नगरप्रमुख सहित कार्यपालिका सदस्य आश्चर्यमा परेका छन् ।

आफ्नो सरुवा भएको विषयमा आफू आश्चर्यचकित भएको प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेलले बताउनु भयो । मन्त्रालयका कर्मचारीको आर्थिक चलखेलका कारण एक वर्षमा उक्त नगरपालिकामा चार जना कार्यालय प्रमुख फेरिएका छन् । किर्ते गरेको आरोप लागेका नायब सुब्बा नन्द किशोर गुप्ताले प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएपछि वरिष्ठताको आधारमा आफू लाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको बताउनु भयो । किर्ते बैठकको विषय आफूले त्यसो नगरेको उहाँले बताउनु भयो ।

नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृत प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी रहे पनि मन्त्रालयको कर्मचारी प्रशासनका कर्मचारीले आर्थिक लाभ लिएर सके नम्बर नभएका अनि नायब सुब्बा लाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिँदै आएको छ । प्रशासन तर्फका उपसचिव हटाएर मन्त्रालयले स्वास्थ्य, शिक्षा, प्राविधिक तर्फका नायब सुब्बा लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने गरेको छ ।