नेपाल बुद्धिजीवी परिषद् म्याग्दीको अध्यक्षमा सुवेदी


प्रताप बानियाँ, म्याग्दी ।

नेपाल बुद्धिजीवी परिषद् जिल्ला कार्यसमिति म्याग्दीको छैटौँ जिल्ला अधिवेशनले गोरखनाथ सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । परिषद्को उपाध्यक्षमा श्रीधर सुवेदी, सचिवमा नारायण पौडेल, कोषाध्यक्षमा विष्णुकुमारी रोका, सहसचिवमा हिराबहादुर बरुवाल र कृष्णकला सुवेदी चयन हुनुभएको छ ।

यसै गरी परिषद्को कार्यसमिति सदस्यहरूमा किसन पुन, भगवान कार्की, भगवान ढुङ्गाना, दिर्घबहादुर खड्का, विनोद केसी, विमल बरुवाल, खगेश्वर रिजाल, टेकप्रसाद सुवेदी, कर्णबहादुर खत्री र श्यामबाबु सिंह चयन हुनुभएको नेपाल बुद्धिजीवी परिषद् म्याग्दीले जनाएको छ । अधिवेशनको बुद्धिजीवी परिषद्का केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज विधान आचार्य र प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो ।

अधिवेशनको उद्घाटन गर्दै परिषद्का केन्द्रीय उपाध्यक्ष आचार्यले पार्टीले नीति निर्माण, योजना तर्जुमा र अध्ययन तथा विश्लेषण जस्ता काममा बुद्धिजीवीहरूलाई परिचालन गर्नुपर्ने बताउनुभयो ।  एमाले केन्द्रीय सदस्य थापाले बुद्धिजीवीहरूले यसअघि एमालेको नेतृत्वमा बनेको ओली सरकारले गरेका राम्रा कामहरूको व्याख्यात्मक विश्लेषण गरेर जनतालाई सुसूचित गराउनुपर्ने र विपक्षीले फैलाएको भ्रमलाई चिर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य एवं एमाले म्याग्दीका निवर्तमान अध्यक्ष हरिकृष्ण श्रेष्ठ, जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसी, नेपाल बुद्धिजीवी परिषद्का पूर्व केन्द्रीय सदस्य तारानाथ शर्मा र परिषद् म्याग्दीका संस्थापक अध्यक्ष गोपाल रिजालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

अधिवेशनको उद्घाटन सत्रमा परिषद्का कार्यवाहक अध्यक्ष गोरखनाथ सुवेदीले साङ्गठनिक र कोषाध्यक्ष विष्णुकुमारी रोकाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उद्घाटन सत्र कार्यवाहक अध्यक्ष सुवेदीको अध्यक्षता, कोषाध्यक्ष रोकाको स्वागत र नारायण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।