नारी दिवसको सार्थकता



विगत वर्षहरुमा जस्तै यस वर्ष पनि अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो । हिजो ८ मार्चका दिन ११२औं अन्तर्राष्ट्रिय नारी दिवसमा पनि सरकारी बिदा, सडकमा तामझाम र नाराबाजीका साथ पुरानै शैलीमा प्ला–कार्ड बोकाएर केही संघसंस्थाका लोगो सहितका क्याप, ब्यानर देखाएर प्रभावतफेरी, कोणसभा, सम्मेलन र गोष्ठीको आयोजना गरियो । यस अवसरमा महिला स्वास्थ्य, स्वरोजगार, आय–आर्जनका लागि नयाँ आयाम बोकेका परियोजनाका बारेमा भने कहीं कतै चर्चा भएको देखिएन ।

अन्तर्राष्ट्रिय नारी दिवसमा विश्व स्वास्थ्य संगठनका दक्षिण पूर्वी एशियाका क्षेत्रीय निर्देशक डा. पूनम क्षेत्रपाल सिंहले लैङ्गिक असमाताका कारण दक्षिण–पूर्वी एशिया क्षेत्रका देशहरूमा दिगो स्वास्थ सेवाको विस्तार तथा भविष्य निर्माण गर्न महिलाहरूको सहभागितालाई मान्यता दिनुर्ने विषयमा जोड दिएका छन् । यस क्षेत्रमा जलवायु परिवर्तनबाट विस्थापित हुनेमा ८० प्रतिशत महिला रहेको अनुमान गरिएको छ । प्राकृतिक प्रकोप र जलवायु परिवर्तनले निम्त्याउँने घटनाका कारण शारीरिक तथा मानसिक रुपमा महिलाहरु नै बढी प्रभावित छन् । पुरुषको दाँजोमा महिलाहरु सामाजिक, आर्थिक र राजनीतिक हैसियतमा पछाडि पारिएकै कारण आफ्नो स्वास्थ्यको निर्णयसमेत आफैले लिनसक्ने अवस्थामा नभएको औंल्याइएको छ । महिलाको शारीरिक बनोट पुरुषको भन्दा फरक भएकै कारण घरपरिवारदेखि राज्य र कानूनमा समेत विभेदपूर्ण व्यवहार गरिन्छ । महिलालाई भ्रूणदेखि नै विभेदपूर्ण व्यवहार गरिन्छ । छोरी जन्मिएको दिनदेखि नै असुरक्षित र कमजोरको विशेषण लगाएर घर–परिवार, आफन्त र समाजले शिक्षा, स्वास्थ्य उपचार, खानपान, पहिरन आदिमा समेत प्रष्ट विभेद गर्दछ । छोरीमान्छे घरको सँघार काटेर बाहिर निस्कँदा होस् वा घरभित्र आफ्नै अभिभावकसँग बस्दा होस् मानसिक रुपमै असुरक्षित महसूस गर्नुपर्ने वातावरणमा हुन्छन् । हरेक दिन बलात्कृत हुँदै ज्यान गुमाउन बाध्य नारीहरुका लागि नारी दिवसको नाराबाजी कागलाई बेल पाकेजस्तै भएको छ । जबसम्म निर्मला पन्तहरुले न्याय पाउँदैनन् तबसम्म नारी दिवसका जस्तासुकै नारा ल्याएपनि सार्थकता पाउने देखिन्न । महिलाले गर्ने हरेक कामको मूल्य दिने र घरदेखि राज्यसम्मका कामको मूल्यांकन गर्ने नीति राज्यले अंगीकार नगर्दा महिला २४ मा १८ घण्टा काममा जोतिदा पनि ‘बेकामे’ को पगरी गुथ्न बाध्य छन् । महिलाले विवाहपूर्वका परिवारमा छोरी, नातिनी, दिदी, बहिनी, भान्जी, आदिका रुपमा भूमिका निर्वाह गर्नुपर्छ भने अर्को परिवारमा गएर श्रीमती, बुहारी, आमा, भाउजुआदि बनेर घरपरिवारको रहनसहनअनुसार चल्नुपर्छ ।

विशेषगरी दक्षिण एशियाका महिलाहरुले आफ्नो जीवन आफ्नालागि नभै परिवारका हरेक सदस्यका इच्छाअनुसार जिउन बाध्य हुनुपर्छ । यस्तो अवस्थामा महिलाले आफ्नो लागि कहिले स्वतन्त्र भएर बाँच्ने र आर्थिक, सामाजिक, राजनीतिक रुपमा माथि उठेर लैङ्गिक समानताका आधारमा स्वस्थ जीवन जिउँदै प्रतिस्पर्धात्मक रुपमा अघि बढ्नु सहज छैन । रोजगारी, व्यापार, व्यवसाय, शिक्षा, स्वास्थ्य, राजनीति, कूटनीतिका क्षेत्रमा पहिलो प्राथमिकतामा महिलाले स्थान पाउने वातावरण बनेकै छैन । सही अर्थमा लैङ्गिक समानता चाहने हो भने घरदेखि राज्यका हरेक क्षेत्रमा महिलाको समान उपस्थिति हुनुपर्छ । राजनीतिक रुपमा तल्लो तहदेखि नै महिलाको अर्थपूर्ण उपस्थिति हुनुपर्छ । अनि मात्र नारी दिवसले सार्थकता पाउने छ ।

प्रतिक्रिया दिनुहोस्