परराष्ट्रमन्त्रीको अभिव्यक्ति प्रति असन्तुष्ट हुँदै एनआरएनए पोल्याण्डले भन्यो, – ‘हाम्रो मेहनतमाथि कुठाराघात भयो’ 



न्युज अफ नेपाल, काठमाडौं ।

परराष्ट्रमन्त्री नारायण खड्काले युक्रेनबाट नेपालीलाई भारतको सहयोगमा उद्धार गरिएको बताएको भन्दै गैर आवासीय नेपाली संघ पोल्याण्डले त्यसमा असन्तुष्टि जनाएको छ । रुस  र युक्रेनको युद्धपछि युक्रेनमा अलपत्र परेका नेपालीहरूलाई गैर आवासीय नेपाली संघ पोल्याण्डले उद्धार तथा सहयोग गरेको भए पनि परराष्ट्रमन्त्री खड्काले भारतको सहयोगमा नेपालीको उद्धार गरेको भनेर आफूहरूको मेहनत माथि कुठाराघात गरेको एनआरएनए पोल्याण्डले विज्ञप्ति मार्फत उल्लेख गरेको छ ।

‘पोल्याण्डको गैर आवासीय नेपाली संघले जर्मनीको बर्लिनस्थित नेपाली दूतावासको समेत समन्वयमा युक्रेनमा रहेका १५ जनालाई विशेष पहल गरी सुरक्षित रूपमा पोल्याण्ड ल्याएको, २९८ जना भन्दा धेरै नेपालीलाई पोल्याण्डमा खान, बस्न प्रबन्ध मिलाएको छ’, विज्ञप्तिमा भनिएको छ, – ‘नेपाल सरकारका परराष्ट्रमन्त्री नारायण खड्काले सोमबार आफ्नै कार्यालयमा पत्रकार सामु युक्रेनमा अलपत्र नेपालीको भारत लगायत देशले उद्धार गरी पोल्याण्ड लगायत देशमा सुरक्षित स्थानान्तरण गरिएको भन्ने भनाई आफैमा प्रमाण विहीन, हास्यास्पद र लज्जा बोधले भरिएको छ ।’

परराष्ट्र मन्त्री खड्काको उक्त अभिव्यक्ति गैर आवासीय नेपाली संघ पोल्याण्डको अथक मेहनत माथि कुठाराघात भएकोसमेत एनआरएनए पोल्याण्डका अध्यक्ष जीवन केसी र महासचिव पवन खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्