महिला हिंसा विरुद्ध पुरुषहरूको प्रतिबद्धता 



काठमाडौं ।

दर्जनौँ युवाहरूको एक समूहले मंगलबार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा र्‍याली निकाल्दै महिला तथा बालिकामाथि हुने हिंसाका विरुद्ध प्रतिबद्धता व्यक्त गरेका छन् । एक दर्जनभन्दा बढी संस्थाहरूको आयोजनामा भएको पदयात्रा ललितपुरको मङ्गल बजारबाट शुरु भई गाबहाल, पुल्चोक हुँदै  जावलाखेलमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै युवा अभियानकर्मीहरूले पुरुषहरूले आफ्नो परिवार, समुदाय तथा कार्यस्थलमा रहेका महिलाहरूप्रतिको जिम्मेवारी महसुस नगरेसम्म लैङ्गिक समानता असम्भव रहेको बताएका थिए ।

समारोहमा महिला तथा बालिका विरुद्धको हिंसा कम गर्नमा पुरुषको भूमिका विषयमा कविता वाचनलगायतका क्रियाकलाप गरेका थिए । कार्यक्रमको समन्वय गरेको संस्था युवालयका अध्यक्ष सन्तोष महर्जनले यो कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने बताए । युवालयले २०७० सालदेखि हरेक वर्ष महिला श्रमिक दिवसका दिन यो कार्यक्रम गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्