महिला उद्यमीको सवालमा महानगरपालिका गम्भीर बन्न माग



ललितपुर ।

ललितपुरका महिला उद्यमी व्यवसायीहरूले आफूहरूले उत्पादन गरेको हस्तकला तथा अन्य सामग्रीको प्रदर्शन र बिक्री वितरणको लागि एउटा स्थायी स्थानको व्यवस्था गरिदिन माग गरेका छन् ।

१ सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ललितपुर उद्योग वाणिज्य संघले ललितपुर महानगर पालिकासँग सहकार्य गरी मंगलबार आयोजना गरेको महिला गोष्ठीमा उनीहरुले सो माग गरेका हुन्।हस्तकला सामग्रीको बिक्री वितरण र प्रदर्शनी कक्ष नहूँदा आफूहरूले उत्पादन गरेको सामग्रीको बजार प्रवर्द्धनमा असर पुगेको महिलाहरूको भनाई रहेको छ ।

सहभागी महिलाहरूले उठाएका सवालमाथि जवाफ दिँदै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर नै झिलिमिलि हुने गरी स्मार्ट लाइट बत्ती जडान गरेकोले जुनसुकै ठाउँमा बिक्री एवं प्रदर्शनी कक्ष राख्न सकिने बताउनुभयो।महानगरपालिकाको परिसरमा नै मेला, प्रदर्शनी कक्षको रुपमा राख्न सकिने पनि मेयर महर्जनको भनाई रहेको छ ।महानगरपालिकाका उपमेयर गीता सत्यालले आर्थिक सशक्तीकरण बिना सारभुत रुपमा महिला सशक्तीकरण नहुने धारणा राख्नुभयो ।महिलाको लागि प्रदर्शनी कक्ष बनाउने विषय नीति, योजना र कार्यक्रममा समेटिए पनि कार्यान्वयन नभएको पनि उहाँको भनाई रहेको छ ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका निर्वतमान अध्यक्ष भवानी राणाले ललितपुरलाई हस्तकला नगरीको रुपमा पहिचान कायम भए अनुरुप हस्तकलाजन्य सामग्रीको बजार प्रर्वद्धनको लागि एउटा स्थायी संरचनाको पहल गर्न महानगरपालिका समक्ष माग गर्नुभयो । ‘ प्रदर्शनी कक्ष बनाउन पहल गरौं । त्यसका लागि महासंघले पनि सहयोग गर्दछ ।यसले महिला उद्यमी प्रवर्द्धनमा ठुलो टेवा पुग्ने छ ।’ महासंघका निर्वतमान अध्यक्ष राणाले भन्नुभयो ।

तुलनात्मक लाभको सामग्री उत्पादन गर्न महिला उद्यमीहरुलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिँदै राणाले त्यस्ता सामग्रीको उत्पादनको लागि सहुलियत दरमा कर्जा प्रवाहको लागि बैंक तथा वित्तीय संस्थाले सहजीकरण गरिदिन पनि आग्रह गर्नुभयो ।कार्यक्रमा महिला उद्यमी महासंघका उपाध्यक्ष वासन्ती प्रधानले महिला उद्यमीहरुले उत्पादन गरेको सामग्रीको बजार प्रवर्द्धन गर्न प्रदर्शनी तथा बिक्री वितरण कक्षको बनाउन महानगरपालिकाको ध्यानाकर्षण गराउनुभयो । उपाध्यक्ष प्रधानले महिला उद्यमीको लागि बैंक तथा वित्तीय संस्थाले दिने कर्जाको ब्याजमा ५ प्रतिशत अनुदानमा अधिकाशं महिलाको पहुँचमा स्थापित नभएको बताउनुभयो ।‘ बैंकका जिम्मेवारहरूमा

लंगिक संवेदनशीलताको खाँचो छ । व्यावसायिक योजना,वित्तीय पहुँच कायम गरिदिन बैंकले जिम्मेवार हुनुपर्दछ र बनाउनुपर्दछ ।’ उपाध्यक्ष प्रधानले भन्नुभयो ।संघका कार्यसमिति सदस्य एवं कार्यक्रम संयोजक गुणकेशरी ताम्रकारले महिला उद्यमशीलताको लागि बैंकमा ऋण लिन जाँदा, बैंकले धितो खोज्ने र महिलाको नाउँमा अचल सम्पति नहुँदा  धितो राख्न कठिनाई हुने जस्ता अनेक समस्याबाट महिला उद्यमीहरु गुज्रिरहनुपरेको बताउनुभयो ।

ज्ञान, सीप दिलाएर महिलाहरुलाई उद्यमी बनाउन सक्ने धारणा राख्दै संयोजक ताम्रकारले परम्परागत उद्यमीहरुलाई नयाँप्रविधि, तालिमको माध्यममा उत्पादनको मात्रा र गुणस्तर बढाउन स्थानीय तहले सघाउनुपर्नेमा पनि जोड दिनुभयो ।संघका अध्यक्ष मनोजबहादुर न्याछ्योंले महिला उद्यमशीलताको विषयमा महानगरपालिकाले ठोस पहल गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा पूर्व सचिव भरतबहादुर थापा, महानगरपालिका प्रशासकीय अधिकृत गणेश अर्याल, संघका महासचिव रुपकमान महर्जन, वरिष्ठ उपाध्यक्ष विश्व बज्राचार्य लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्