पर्साबाट दुईवटा मालबहाक ट्रक नियन्त्रणमा


कृष्णउदास खनाल, वीरगन्ज ।

जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलिको सामान लोड गरेको दुईवटा ट्रक नियन्त्रणमा लिएको छ ।

विल विजक भन्दा बढी खुद्रा मालबस्तुहरू तथा हार्डवेयर पार्टसहरू लोड गरेर काठमाडाैं लिँदै गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पर्साको वीरगन्ज महानगरपालिका वडा नं.–१५ प्रतिमाचोक सडक खण्डबाट ना.६ ख. ९९९५ नम्बरको मालवाहक कन्टेनर नियन्त्रणमा लिएको हो ।

कण्टेनर नियन्त्रणमा लिएर चेक जाँच गर्ने क्रममा सूचना अनुसार नै भन्सार छली गरी ल्याइएका खुद्रा सामानहरू तथा हार्डवेयर पार्टसहरू फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । नियन्त्रणमा लिएको कण्टेनर सहितका मूल्य चालिसलाख मूल्याङ्कन गरी कन्टेनर तथा चालकसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी नायव उपरीक्षक खनालले बताउनुभयो ।

यसैगरी विल विजक भन्दा बढी लत्ताकपडा, जुत्ता तथा खुद्रा मालबस्तुहरू ट्रकमालोड गरी रुपनदेही तर्फ लादै गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले हिजो दिउँसो पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. ०८ घण्टाघर सडकखण्डबाट ना.३ ख. ३९४४ मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको ट्रक चेकजाँच गर्दा सूचना पाए अनुसारकै भन्सार छली गरी ल्याइएका लत्ताकपडा, जुत्ता तथा खुद्रा सामानहरू फेला परेको प्रहरी नायव उपरीक्षक खनालले बताउनुभयो । ट्रक तथा चालकलाई नियन्त्रणमा लिई सामान र ट्रक सहितको पचासलाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्याल पथलैयामा बुझाईएको प्रहरी नायव उपरीक्षक खनालले बताउनुभयो ।