ज्ञान भएका तर सीप नभएका डाक्डर बढे !

संविधान च्यात्नुपर्छ कि भने कार्यान्वयन गर्नुपर्छ : सभामुख



पोखरा ।

नेपालमा पछिल्लो समय चिकित्सा क्षेत्रमा निकै विवाद आउने गरेको छ । कतै डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भन्ने खबर त कतै मेडिकल माफियाको रजाइँ । यस्तै कुराले चिकित्सा क्षेत्रलाई बदनाम गरिरहेको समयमा चिकित्सा विज्ञहरुले भने नेपालमा सीप भएका डाक्टर भेटिन नसकेको बताएका छन् ।

गण्डकी प्रदेशमा गण्डकी विश्वविद्यालय सञ्चालनमा आएयता अहिले स्वास्थ्य चिकित्साको पनि पढाइ हुने तयारी भइरहको छ । स्वास्थ्य चिकित्साको पढाइ हुने तयारीसहित गण्डकी विश्वविद्यालयले एमबीबीएस र बीडीएसको पाठ्यक्रमसमेत तयार गरिसकेको छ । जुन पाठ्यक्रम देशकै पहिलो रहेको र उत्कृष्ट रहेको विज्ञहरुले दाबी गरेका छन् ।

तर, देशमा अहिले सीप नभएको डाक्टरको संख्यामा वृद्धि हुनु निकै दुःखद् रहेको नेपाल मेडिकल काउन्सिलका रजिस्टार कृष्णप्रसाद अधिकारीले बताउनुभयो । उहाँले एमबीबीएस गरेकै डाक्टरले सुईसम्म लगाउन नसक्ने अवस्था रहेको बताउँदै चिकित्सा क्षेत्रमा निकै समस्या र चुनौती खडा हुँदै गएको धारणा राख्नुभयो ।

‘हाम्रो क्षेत्रमा अहिले ज्ञानी डाक्टर जति पनि भेटिन्छन् तर सिपालु डाक्टर भेटिँदैन यो आजको निकै चुनौतीको विषय हो’, उहाँले भन्नुभयो– ‘ढंग भएका डाक्टर नै छैनन्, अहिलेको परीक्षा भनेको सोध्ने हो । जसले खररर भन्न सक्यो त्यसैले जागिर पाउने हो, यहाँ प्रयोगात्मक हुँदैन । अहिले नेपालमा बीबीएस गरेकाले नाकमा ट्युब हाल्न नजान्ने र बीए पढ्नेले निवेदन लेख्न जान्दैनन् ।’ उहाँले मेडिकल चिकित्सा आयोग बने पनि अनौठो बनेको बताउनुभयो ।

नेपालमा सीपसहितको डाक्टर बनाउन गण्डकी विश्वविद्यालयले चिकित्सा शिक्षाको पाठ्यक्रम निकालेको रजिस्टार अधिकारीको भनाइ छ । यस्तो बनाउँदा ठूलो लडाइँ हुने अनुमान उहाँको छ । विश्वविद्यालय शुरु गरेसँगै अब चिकित्सा शिक्षालाई समेत अघि बढाएको गण्डकीले पाठ्यक्रम तयार गरेको हो । गण्डकीले चाँडै नै एमबीबीएस सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

सोमबार एक कार्यक्रमका बीच पाठ्यक्र हस्तान्तरण भएको हो । १ वर्ष लगाएर तयार पारिएको पाठ्यक्रम देशकै उत्कृष्ट रहेको विज्ञहरुको भनाइ रहेको छ । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले संविधानको आधारमा गण्डकी विश्वविद्यालय जन्मिएको बताउनुभयो । विश्वविद्यालय कसरी बनाउने भन्ने प्रश्नका बाबजुत संविधान र अहिलेको सिस्टमसँग धेरै कुरा नमिलेको र मिलाउन नचाहनेहरु पनि लागि परेको सुनाउनुभयो ।

‘हिजो जुन ढंगका प्राध्यापक थिए, जसलाई सबैले सम्मान दिन्थे त्यो आज अपमानमा किन परिणत भयो ?’, उहाँ भन्नुहुन्छ– ‘हाम्रो संवैधानिक अधिकार हमीले पाएका छैनौं । कि यो संविधान च्यातिन पर्यो, कि त यो लागू हुन पर्यो ।’ जबसम्म राजनीतिक दल र नेतृत्व विश्वविद्यालयमा हावी हुन्छन् तबसम्म शिक्षामा विकृति भइरहने उहाँको दाबी छ ।

संविधानले दिएको अवसरको स्वतन्त्र रूपले प्रयोग गर्न पाउने अधिकार दिएकाले त्यसलाई सदुपयोग गर्ने आफूहरूको जिम्मावारी भएको गण्डकी विश्वविद्यालयका उपकुलपति गणेशमान गुरुङ सुनाउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्