तिलोत्तमाको पौने ४ करोड लगानी अलपत्र



बुटवल ।

प्राविधिक विषय अध्यापनका लागि सम्बन्धन प्राप्त नहुँदा रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाले तयार गरेको पौने ४ करोड लगानीको सिटी कलेज सञ्चालन नहुँदै अलपत्र परेको छ । तिलोत्तमा नगरपालिकाले सिटी कलेज सञ्चालन गर्न भवन तयार गरेको भए पनि सम्बन्धन प्राप्त नहुँदा कलेज सञ्चालनमा समस्या देखिएको हो ।

नगरपालिकाले सीटीईभीटीसँग स्वास्थ्यका तीनवर्षे डिप्लोमा विषयका कक्षा सञ्चालन गर्न सम्बन्धन माग गरेको थियो । तर, अझैसम्म सम्बन्धन प्राप्त नभएको नगर प्रमुख वासुदेव घिमिरेले बताउनुभयो । नगरका जेहेन्दार, गरिब विद्यार्थीको प्राविधिक विषय अध्ययनमा पहुँच बढाउने उद्देश्यले नगरपालिकाले सिटी कलेजको अवधारणा ल्याएर भौतिक संरचना निर्माण गरेको हो ।

प्रारम्भिक चरणमा डिप्लोमा तहका कक्षा सञ्चालन गर्ने र क्रमशः स्नातक तहका कार्यक्रम पनि सञ्चालन गर्ने नगरपालिकाको योजना छ । नगरपालिकाले चालू शैक्षिक सत्रबाट कक्षा सञ्चालन गर्ने गरी भौतिक पूर्वाधार निर्माणको काम सके पनि सम्बन्धन प्राप्त नहुँदा यस वर्ष सम्भव नभएको नगर प्रमुख घिमिरेले बताउनुभयो ।

तिलोत्तमा नगरपालिकाले नगरको मेघा प्रोजेक्टका रूपमा तिलोत्तमा सिटी कलेज निर्माण गरेको हो । नगरपालिकाले वडा नम्बर १४ खैरियामा दुई बिगाहा परिसरमा सिटी कलेजका लागि भवन निर्माण गरेको छ । साविकको नर्मदेश्वर प्रावि रहेको स्थानमा एक वर्षको अवधिमा नगरपालिकाले सुविधासम्पन्न तीनतले भवन निर्माण गरेको हो । ३ करोड ७७ लाख लागतमा भवन निर्माण भएपछि सुविधा सम्पन्न तरिकाले प्राविधिक शिक्षाका कक्षा सञ्चालन गर्न सहज हुने नगरपालिकाको बुझाइ छ । तर, सम्बन्धन प्राप्त नहुँदा नगरपालिकाले सोचेअनुसार काम गर्न नसकेको वडाध्यक्ष सोहनप्रसाद चौधरीले बताउनुभयो ।

नगरपालिकाले सीटीईभीटीसँग सम्बन्धनका लागि फाइल सम्बन्धित निकायमा बुझाइसकेको छ भने यो विषयमा धेरैपटक फ्लो गरिसकेको छ । स्वास्थ्य विषयका विभिन्न विषय पढाउने र विद्यार्थीहरुलाई नगरका स्वास्थ्य संस्था तथा खुल्ने तयारीमा रहेका नगर अस्पतालमा खटाउन सकिने नगरपालिकाको बुझाइ छ । तिलोत्तमामा १५ शय्याका दुईवटा सिटी अस्पताल स्थापनाका लागि भौतिक पूर्वाधार निर्माणको काम अघि बढेको छ । अपुग हुने संरचना तथा भौतिक पूर्वाधार निर्माणका लागि आन्तरिक स्रोतबाटै व्यवस्थापन गर्न सकिने भए पनि सम्बन्धन नपाउँदा सबै काम रोकिएको जनप्रतिनिधिहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्