तातोपानी कुण्डमा नुहाउने बिरामी बढे



मुगु ।

मुगुको सोरू गाउँपालिकामा पर्ने कुलाहाँ र छायाँनाथ रारा नगरपालिकाको भैंसेकुनास्थित तातोपानीमा गर्मीयाम शुरू हुँदा समेत नुहाउनेको संख्या कम हुन सकेको छैन । रुघाखोकी, निमोनिया, रागन, लुतोलगायतका छालाका रोगसम्बन्धी बिरामी अरूभन्दा बढी आउने गरेका छन् ।

छिमेकी जिल्लाबाट समेत तातोपानी नुहाउन आउनेको संख्या बढेको सोरू–९ का ताराचन्द्र चौलागाईं बताउनुहुन्छ । यो वर्ष अत्यधिक जाडो बढेकाले गाउँमा रुघाखोकी, निमोनिया, कोरोना, रागन, लुतोलगायतका बिरामी बढेको थियो । स्वास्थ्य चौकीमा आउने यस्ता बिरामीलाई नुहाउन, खान र कपडा धुन चिसोपानी प्रयोग नर्गन भनेकाले पनि यो वर्ष तातोपानीमा नुहाउनेको भीड बढीको हुन सक्ने सोरू–९ का स्वास्थ्य इन्चार्ज छक्कबहादुर शाहीको भनाइ छ ।

विगतका वर्षमा कुलाहाँ र रुगाको भैंसेकुनास्थित तातोपानी कुण्डमा कात्तिकदेखि फागुन महिनासम्म मात्र नुहाउने गरेका थिए । तातोपानीमा नुहाउँदा छालासम्बन्धी रोग चिलाउने, लुतो, एलर्जी, बाथलगायतका रोग निको हुने र तातोपानी पिउँदा पेटसम्बन्धी बिरामी ग्यास्ट्रिक, रुघाखोकी, निमोनिया तथा कोरोनासमेत निको हुने गरेको सोरू–८ की ८६ वर्षीया कैली रावल बताउँनहुन्छ । हप्ताको एक दिन तातोपानी कुण्डमा नुहाउने, बाफ लिने, पिउने गरेकाले आफूमा कुनै पनि रोग नभएको उहाँको कथन छ ।

जुम्ला, हुम्लालगायतका जिल्लाको तातोपानीभन्दा मुगुको तातोपानी धेरै तातो भएकाले औषधोपचारका लागि ती भेगबाट समेत नुहाउन आउनेको भीड लाग्ने गरेको छ । विशेष गरी माघे सङ्क्रान्ति, माघे पूर्णिमा, शिवरात्रिलगायतका महत्वपूर्ण पर्व तथा उत्सवमा तातोपानीमा नुहाउनेको भीड वर्षेनी बढ्ने गरेको शोरू गाउँपालिकाकी उपाध्यक्ष राज्यलक्ष्मी मल्ल बताउनुहुन्छ ।

तातोपानी क्षेत्रमा खानेपानी, शौचालय, विद्युत्, सञ्चार, बिजुलीसहितका पूर्वाधार पुर्याएर तातोपानी कुण्डलाई व्यवस्थित गर्न सकेमा यस क्षेत्रको विकासमा टेवा पुग्नेछ । व्यवस्थित धारा नभएकाले कुण्ड र मुहानमा नुहाउने क्रममा झगडासमेत पर्ने गरेको स्थानीयको कथन छ ।

प्रतिक्रिया दिनुहोस्