राष्ट्रिय महिला आयोगले आफ्नो २०औँ स्थापना दिवस मनायो



काठमाडौं । 

‘सामाजिक न्याय र लैङ्गिक समानता: दिगो विकासको सुनिश्चितता’, भन्ने मूल नाराका साथ सोमबार काठमाडौंमा राष्ट्रिय महिला आयोगको २०औँ स्थापना दिवस भव्यताका साथ मनाइएको छ ।

कार्यक्रममा आयोगका सचिव कविराज पौडेलले आयोगले गर्दै आएका गतिविधिको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले आयोगको २०औँ स्थापना दिवसको अवसर पारेर ‘नेपालमा महिलाको अवस्था’ नामक पुस्तक प्रकाशनमा ल्याएको समेत जानकारी दिनुभयो ।

उक्त पुस्तकमा विषेश गरी महिलाका सवालमा नीति, योजना, कार्यक्रम बनाउन सहयोगका लागि आम मानिसलाई नेपाली महिलाले गरेको संघर्ष र चुनौती पश्चात् प्राप्त गरेका उपलब्धिबारे जानकारी मूलक विषयवस्तु समेटिएका छन् । पुस्तकबारे सचिव पौडेल भन्नुहुन्छ, – ‘महिलालाई पनि राजनैतिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा सशक्त बनाएर अघि लैजानुपर्नेमा जोड दिनुपर्छ, हामीले महिलालाई घरको भान्छामा मात्रै सीमित राखेर आज उनीहरू कमजोर भई बाहिरी वातावरण के भइरहेको छ भन्ने कुराको ज्ञानको अभावले पछाडि परेका छन् ।’

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले नेपालमा महिला अधिकार आन्दोलनको उपलब्धिका रुपमा महिला तथा मानव अधिकार सुनिश्चितताका लागि राष्ट्रिय महिला आयोग स्थापना भएको बताउनु भयो । महिला हिंसा वा सामाजिक कुरीतिबाट पीडित वा महिला अधिकार उपयोग गर्न नदिएको विषयमा छानबिन तथा अनुगमन गरी पीडितलाई न्याय दिलाउन र दोषीलाई कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने कार्य अहिले आयोगले गरिरहेको अध्यक्ष पराजुलीले बताउनु भयो ।

‘नेपालका विभिन्न जिल्लाहरूमा गएर हामीले सचेतनामूलक कार्यक्रम गरेका छौँ, हिंसामा परेका महिलालाई उद्धार गरेका छौँ ।’, अध्यक्ष पराजुलीले भन्नुभयो । उहाँले दूर दराजका महिलालाई आत्मनिर्भर बनाउनलाई उद्यमशीलताको तालिम, बिना धितो ऋणको व्यवस्था सरकारले मिलाउनुपर्नेसमेत बताउनुभयो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी, समाजसेवीसहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्