समानताको शुभकामना !



आज मार्च ८ तारिक, अन्तर्राष्ट्रिय महिला दिवस– विश्वका महिलाले आफ्नो मुक्तिको लागि गरेको संघर्ष र लैङ्गिक समानताका पक्षमा भएका तमाम आन्दोलनको सम्झना गर्ने दिन । हरेक वर्षझैं यस वर्ष पनि विश्वभर यो दिवस मनाइँदै छ । विभेद र हिंसामा परेका उत्पीडित महिलाको लैङ्गिक हिंसा विरुद्धको आवाज बुलन्द गर्न महिला मात्र होइन, पुरुष र अन्य लिङ्गी पनि सडकमा उत्रने गर्दछन् । महिला दिवस मनाउने क्रममा आज महिलाहरू समाज, राजनीति र आर्थिक क्षेत्रमा कहाँ आइपुगे भनेर हेर्नु, विश्लेषण गर्नु र सुधारका लागि प्रण गर्नु आवश्यक छ । लैङ्गिक असमानताबारे चेतना जगाउनका लागि आन्दोलन र प्रदर्शन गरेर यो दिवस मनाउनु स्वाभाविक पनि छ । आजको सचेत युगमा समेत पितृसत्तात्मक सोच र संस्कार, त्यसमा आधारित राजनीतिक व्यवस्था, विभेदपूर्ण कानुन कायम रहनु दुर्भाग्यपूर्ण हो । जबरजस्ती करणी, यौन दुव्र्यवहार, घरेलु हिंसा, सामाजिक अपहेलना, दाइजो प्रथाजस्ता अमानवीय व्यवहारबाट मातृजाति पीडित हुनु खासगरी पुरुष जातिका लागि बढी लज्जाको विषय हो ।

१९०८ मार्च ८ को दिन अमेरिकाको शिकागो शहरमा महिलाहरूले समान अधिकारको मागका साथ हड्ताल गरे, जुलुस प्रदर्शन भयो । त्यसकै सम्झनामा यो दिवस मनाउन थालिएको हो । महिला हक–अधिकारको माग गर्दै भएको सो दिवसको स्मरण आवश्यक पनि छ । सन् १९१० मा कोपेनहेगेनमा सम्पन्न महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने जर्मनी माक्र्सवादी नेतृ क्लारा जेट्किनको प्रस्ताव पारित भएपछि सन् १९११ देखि विश्वभरिका नागरिकले यस दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउन थाले । लामो समयदेखि महिलाले संघर्ष गरेअनुरुप नेपालमा पनि ठूला–ठूला राजनीतिक संघर्ष र परिवर्तनहरु पनि भएका छन् । वर्तमान संविधानले लैङ्गिक आधारमा कुनै पनि महिलामा कुनै किसिमका असमान व्यवहार हुन नदिने प्रष्ट उल्लेख गरेको छ । तर नेपाली महिलाले लैङ्गिक समानताको अनुभूति पूर्ण रुपमा सुरक्षित गर्न पाएको देखिंदैन । महिलाले समानताको लडाइँ शुरु गरेको एक शताब्दीभन्दा बढी भइसकेको अवस्थामा समेत महिला विरुद्धको शोषण, असमानता, विभेद अन्त्य भइसकेको छैन । महिलामाथि असमानता मात्र होइन, सामाजिक असुरक्षा पनि उस्तै छ । आज पनि महिलाहरुमाथि बलात्कारका घटनाहरु दिन–प्रतिदिन बढिरहेका छन् । महिलामाथि हुने हिंसा र विभेदलाई भाषिक, सांस्कृतिक, जातीय विभेदले बढावा दिएको छ । नेपालको सन्दर्भमा जातीय, वर्गीय र क्षेत्रीय उत्पीडनको बढी शिकार पनि महिला नै हुनुपरेको तीतो यर्थाथ हो ।

महिलामाथि विभेद र हिंसा सिंगो मानव जातिकै कलंक हो । महिलाहरु विभेदको शिकार भएसम्म पुरुष पनि स्वतन्त्र र समानतापूर्वक अघि बढ्न सक्दैनन् । महिला विभेद समाज र राष्ट्रको परिर्वतन र विकासको तगारो साबित हुँदैआएको छ । त्यसैले आजको दिनमा आर्थिक, भाषिक, जातीय हिसाबले थिचोमिचोमा परेका शोषित, पीडित महिला मात्र होइन यस आन्दोलनमा सरिक सबैले हिमाल, पहाड, तराईबाट एकीकृत ढंगले अघिबढ्न प्रण गर्नुपर्दछ । सबैमा लैङ्गिक समानताका लागि शुभकामना !

प्रतिक्रिया दिनुहोस्