घरेलु कामदार बन्न विदेश जाने नेपालीलाई अनुमति



काठमाडौं ।

पाँच वर्षअघि संसदीय सुनुवाइ समितिको सिफारिसमा बन्द भएको घरेलु कामदारको श्रम स्वीकृति पुनः खुलेसँगै यस क्षेत्रमा श्रम लिनेहरूको संख्या बढेको छ । वैदेशिक रोजगारीमा घरेलु कामदारको रूपमा जाने नेपाली असुरक्षित भएको भन्दै २० चैत २०७३ मा व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी र अन्य मुलुकमा घरेलु कामदार पठाउन पूर्णरूपमा प्रतिबन्ध लगाउन निर्देशन दिएको थियो । घरेलु कामदारको रोकिएको श्रम स्वीकृतिका कारण आफ्नो परिवारको भेटघाटबाट समेत वञ्चित बनेकाहरूको गुनासोलाई मध्यनजर गर्दै ९ फागुन २०७८ मा मन्त्रीस्तरीय निर्णयले घरेलु कामदारलाई पुनः श्रम स्वीकृति दिन थालिएको हो ।

सरकारले घरेलु कामदारमा पुनः श्रम स्वीकृति दिने निर्णय गरेसँगै पछिल्लो १४ दिनमा श्रम स्वीकृति लिनेको संख्या १ सय १४ पुगेको श्रम कार्यालय ताहाचलका प्रमुख रमेश अर्यालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार यस १४ दिनको समयमा पुरुष ४१ र महिला ७३ ले श्रम कार्यालयबाट श्रम स्वीकृति लिएका छन् । उहाँका अनुसार नयाँ भिसाको श्रम खुल्ला नभए पनि पहिलेदेखि विदेश बस्दै आएको र पासपोर्ट भिसा लगाएको व्यक्तिलाई पनि श्रम कार्यालयबाट श्रम दिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘पाँच वर्ष पहिले घरेलु कामदार गएको होस् या अन्य भिसामा गएर घरेलु कामदारमा भिसा लगाएको होस्, सबैको हकमा पुनःश्रम स्वीकृति खुलेको छ ।’ त्यसका लागि नेपाल आउँदा सम्बन्धित देशको दूतावास गएर अनुसूची फाराम भने लिएर आएमा मात्र श्रम दिने व्यवस्था भएको पनि उहाँले जानकारी दिनुभयो ।

घरेलु कामदारको श्रम स्वीकृति रोकिएका कारण भारतलगायतका देशबाट घरेलु कामदार विभिन्न देश पुग्नेगरेका थिए । श्रम स्वीकृति खुलेका कारण नेपालीले अब नेपालकै विमानस्थल प्रयोग गरेर विदेश जान पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्