घेराबन्दीमा प्रचण्ड, पदाधिकारी चयनमा असहमति



काठमाडौं ।

नेकपा एकीकृत माओवादी केन्द्रभित्र पदाधिकारी चयनको प्रक्रिया कठिन बन्न पुगेको छ । महाधिवेशन सम्पन्न भएको दुई महिना बितिसक्दासमेत माओवादीले पदाधिकारी चयनमा सहमति जुटाउन नसकेको हो ।

पदाधिकारी चयन गर्ने जिम्मेवारी पाएको केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्न असफल देखिएको छ । महाधिवेशनबाट चयन भएको केन्द्रीय कमिटी बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अध्यक्ष बनाउने निर्णय गरे पनि पदाधिकारी चयनको प्रक्रिया धकेलिँदै आएको छ । १५ सदस्सीय पदाधिकारीमा अध्यक्ष प्रचण्ड मात्र चुनिनुभएको छ । बाँकी पदाधिकारी चयनमा आकांक्षीको संख्या धेरै भएपछि प्रचण्ड दबाबमा पर्दै आउनुभएको छ ।

महासचिव पदका लागि नेताहरूको अस्वस्थ दबाबपछि प्रचण्डले केन्द्रीय कमिटी बैठकबाट पनि पदाधिकारी चयनको प्रक्रिया थप लम्बिएको छ । पार्टी सञ्चालनका लागि महत्वपूर्ण मानिएको पदाधिकारी चयनको नै माओवादीभित्र विवाद रहेको छ । पार्टीभित्र प्रभावशाली नेताहरूको दबाबको कारण प्रचण्डले पदाधिकारी चयनको विषयमा निर्णय लिन सक्नुभएको छैन । अध्यक्षबाहेक उपाध्यक्ष, महासचिव, सचिवलगायतका बाँकी १४ पदाधिकारी चयन गर्न बाँकी छ ।

शुक्रबारबाट शुरू भएको दोस्रो केन्द्रीय कमिटी बैठकमा केन्द्रीय पदाधिकारी चयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने कार्यसूची रहे पनि अध्यक्ष प्रचण्डले अन्तिम समयमा आएको पदाधिकारी चयनको विषयलाई थाती राख्ने निर्णय लिनुभएको हो । सोमबारको बैठकमा अध्यक्ष प्रचण्डले आगामी जेठ २० गते बस्ने बैठकबाट पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने जानकारी गराएको गराउनुभएको छ । माओवादीका केन्द्रीय सदस्य हरि दाहालले स्थानीय तहको निर्वाचनपछि मात्र पदाधिकारी चयनलगायतको काम सम्पन्न हुने बैठकमा जानकारी भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘अहिले पदाधिकारी चयन गर्नतिर भन्दा पनि स्थानीय तहलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्ने पार्टीले निर्णय गरेको छ ।’

त्यसै गरी बैठकले एमसीसीमा उठेका प्रश्नहरू जेठ २० सम्म स्थगित गर्दै प्रदेश इन्चार्जहरूको जिम्मेवारी तोकेको छ । अर्थमन्त्रीसमेत रहेका नेता जनार्दशन शर्माले बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिएको बताउनुभयो । उहाँका अुनसार ३४४ जनाको केन्द्रीय कमिटी बनाएको र पार्टीले थप २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य चयन गर्नेछ ।

बैठकले सातवटै प्रदेशको इन्चार्ज तोक्ने निर्णय गरेको छ । प्रदेश १ को इन्चार्जमा राम कार्की, मधेस प्रदेशको इन्चार्ज गणेश शाह, वागमती प्रदेशको इन्चार्जमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल, सुदूरपश्चिममा खगराज भट्ट, सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लीलामणि पोखरेललाई जिम्मेवारी तोकेको छ । प्रदेश इन्चार्जले प्रदेशभित्रका पार्टी केन्द्रीय समिति सदस्यहरूको बैठक राखेर ती प्रदेशभित्रका जिल्लाहरूलाई विभिन्न समूहमा विभाजन गरेर चुनावी कमान्डर बनाउने भएको छ ।

बैठकमा प्रचण्डले ९७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने प्रस्ताव गरेकोमा ५० जनाको नाम अनुमोदन भएको छ । नयाँ मनोनीत केन्द्रीय सदस्यमा प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यसमेत रहनुभएको छ । जसमा महाधिवेशनमा केन्द्रीय प्रतिनिधि बनेका ३७ जना, ९ जना मधेसी र ४ जना दलित समूहबाट मनोनीत भएका छन् । ५० जना मनोनीत भएसँगै माओवादी केन्द्रीय समिति सदस्य संख्या २ सय ९७ पुगेको छ । यसअघि २ सय ४७ सदस्यीय केन्द्रीय समिति थियो ।

त्यसै गरी एमसीसीको विषयलाई लिएर फरक मत राख्दै आएका नेता नारायणकाजी श्रेष्ठले उठाएको विषयमा भने आगामी जेठमा मात्र छलफल हुने भएको छ । श्रेष्ठ चुनावपछि आफूले उठाएको एजेन्डामा छलफल गर्न राजी भएसँगै माओवादीभित्र देखिएको आन्तरिक विवाद पनि तत्कालको लागि समाधान भएको छ ।

प्रतिक्रिया दिनुहोस्