नागरिकतासम्बन्धी विधेयक पारित गराउन आग्रह



काठमाडौं, (नेस) ।

गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरेर महिला सांसदहरूले नागरिकतासम्बन्धी विधेयक पारित गराउन पहल गरिदिन आग्रह गरेका छन् । पूर्वमन्त्री तथा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, सांसदहरू रंगमती शाही, बिन्दा पाण्डे, विमला राई पौडेल र विना श्रेष्ठले आइतबार गृहमन्त्री खाँणलाई उहाँकै कार्यकक्षमा भेटेर यस्तो आग्रह गर्नुभएको हो ।

एमाले सांसद पाण्डेले नागरिकतासम्बन्धी विधेयक प्रतिनिधि सभाको समितिबाट संसद्मा गइसकेकाले पारित गराउन आवश्यक पहलकदमीका लागि आग्रह गर्नुभयो । वैवाहिक अंगिकृतबाहेकका विषयमा सहमति बनेकाले विधेयक पारित गरेर कानुन बनाउन जोड दिँदै उहाँले भन्नुभयो–‘नागरिकतासम्बन्धी विषयले उमेर पुगेकाहरूले पनि बैंक खाता खोल्न, विद्यालयमा भर्ना हुन र रोजगारीका लागि आवेदन दिन पनि समस्या भएको छ ।’

भेटमा महिला सांसदहरूले त्यस्तै भिजिट भिसा र सोबाट सृजित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलको प्रतिवेदनमा संविधानसँग बाझिने विषयबस्तु समेटिएको भन्दै सच्याउन पनि आग्रह गरेका थिए । साथै पल शाह बलात्कार प्रकरणमा पीडित बालिकामाथि बढी प्रहार गर्ने काम भएको भन्दै त्यसलाई रोक्न पहल गरिदिन पनि गृहमन्त्री खाँणलाई आग्रह गरिएको थियो ।

महिलाको मौलिक हक समेटिएको संविधानको धारा–३८ अनुरूप समावेशी र समानुपातिक आधारमा स्थानीय तह निर्वाचनमा कम्तीमा ५० प्रतिशत उम्मेद्वारी दिने व्यवस्था दलहरूबाट हुनुपर्नेमा उहाँहरूको जोड थियो । कांग्रेस सहमहामन्त्री उपाध्यायले स्थानीय तह निर्वाचनमा महिलालाई पालिकाका उपप्रमुखमा मात्र होइन, प्रमुखमा पनि निश्चित कोटा छुट्टयाउनुपर्ने माग राख्नुभएको थियो ।

वडा अध्यक्षहरूमा महिलाको संख्या कम रहेको भन्दै संख्या बढाउने पहल पनि सरकारबाट हुनुपर्नेमा उहाँले जोड दिनुभयो । त्यस्तै स्थानीय तह निर्वाचनमा ५० प्रतिशत महिला उम्मेद्वार उठाउनुपर्ने, म्यादी प्रहरी र निर्वाचन गर्ने कर्मचारी पनि ५० प्रतिशत महिला नै खटाउनु पर्ने पनि उहाँहरूको माग थियो । गृहमन्त्री खाँणले उहाँहरूले उठाएका विषयमा सरकारको ध्यानाकर्षण भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्