विमानस्थल सुरक्षासम्बन्धी प्रतिवेदन बुझाइयो



काठमाडौं, (नेस) ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उडान भर्न लागेको नेपाल एयरलाइन्सको विमानमा राहदानी र प्रवेशाज्ञा नभएको एक व्यक्ति पुगेको घटनाको सम्बन्धमा छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई समितिको प्रतिवेदन बुझाएको छ ।

गृह मन्त्रालयमा समितिका संयोजक अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले प्रतिवेदन गृहमन्त्री खाँणसमक्ष पेस गर्नुभएको हो । गत फागुन ९ गते राति हवाइजहाजको टिकट र प्रवेशाज्ञा नभएको व्यक्ति विमानस्थलभित्र छिरेर जहाजसम्म पुगेपछि विमानस्थलको सुरक्षाबारे सर्वत्र चर्चा भएको थियो । त्यसलगतै गृहमन्त्रीस्तरीय निर्णयबाट फागुन १३ गते विमानस्थलको सुरक्षा अवस्था तथा सुधारका उपायहरू सम्बन्धमा सिफारिस गर्न भन्दै समिति गठन भएको थियो ।

समितिमा महासेनानी अनुपअधिकारी, प्रहरी उपरीक्षक वेद विष्ट, कामु सशस्त्रप्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, उप–अनुसन्धान निर्देशक विष्णुमणि आचार्य, हवाई सुरक्षा निर्देशक वासुदेव भट्टराई, नेपाल वायु सेवा निगमका निर्देशक अनिल घिमिरे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल तथा गृह मन्त्रालयका उपसचिव गोमा चेम्जोङ सदस्य हुनुहुन्थ्यो ।

प्रतिवेदन कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने आश्वासन दिँदै गृहमन्त्री खाँणले भन्नुभयो– ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न निकायको तालमेल हुन्छ । तसर्थ कार्यान्वयनका लागि पनि सबै निकायको तालमेल चाहिन्छ । सबैसँगको तालमेलमा रिपोर्ट कार्यान्वयनको प्रक्रिया अगाडि बढ्छ ।’

उहाँले विमानस्थलभित्र नागरिक छिरेर जहाजमै पुग्नु संवेदनशील भएको भन्दै त्यो घटना कसरी र कसको कमजोरीले भएको हो, त्यसको निक्र्यौल गरी पर्यटन र अर्थ मन्त्रालय सहितको सल्लाहमा दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

प्रतिवेदन बुझाउँदै अध्यागमन विभागका महानिर्देशक तथा समितिका संयोजक भट्टराईले आफूहरूले प्रहरी प्रतिवेदन, विमानस्थलमै पुगेर अभियुक्तसँग लिएको जानकारी तथा सीसीटिभी फुटेजका आधारमा प्रतिवेदन तयार पारेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्