चार घण्टापछि आगलागी नियन्त्रणमा



तनहुँ ।

व्यास नगरपालिका–४ दमौलीस्थित मुख्य चोकमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ । भूपाल हार्डवेयरको गोदामबाट शुरू भएको आगो चार घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो ।

आइतबार बिहान १० देखि शुरू भएको आगलागी दिउँसो २ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आगलागीबाट नौ वटा पक्की घर र दुई वटा टहराको गोदाममा क्षति पुगेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्की घरमा सामान्य र आंशिक क्षति भएको छ भने टहराहरू पूर्ण रुपमा क्षति भएका छन् । आगलागीबाट भएको एकिन क्षति प्राप्त नभइसकेको प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो । ‘हामी क्षतिको विवरण संकलन गरिरहेका छौं, पछि यसबारेमा जानकारी गराउँछौ,’ खड्काले भन्नुभयो ।

आगलागीबाट टहरा सहित गरेर नौ वटा घरमा क्षति पुगेको उहाँले बताउनुभयो । आगलागीबाट भूपाल हार्डवेयर, ज्योति हार्डवेयर, हार्डवेयरका गोदामहरूसहित साना पसलहरूमा क्षति पुगेको छ । व्यास नगरपालिकाका साथै पोखरा, तनहुँ हाइड्रोपावर, लमजुङलगायतका स्थानबाट आएको दमकल र सिम्रिक एयरको हेलिकप्टरले आगो निभाउन सहयोग गरेको थियो । साँघुरो ठाउँ भएकाले दमकल छिराउन समस्या हुँदा हेलिकप्टरमार्फत सहयोग लिइएको बताइएको छ ।

आगलागी बढेपछि भूपाल हार्डवेयरसँगै रहेको टहरा डोजरले भत्काएर दमकलमार्फत आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो । सिम्रिक एयरको हेलिकप्टरले मादी नदीबाट पानी ओसार्दै आगो निभाउन सहयोग पुर्याएको थियो ।

उक्त हेलिकप्टरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठ किसान चढेर आउनुभयो । तर, उक्त हेलिकप्टर भने नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीको पहलमा ल्याइएको थियो । हेलिकप्टरकै कारण आगलागी छिटो नियन्त्रणमा लिन सकिएको बताइएको छ । आगलागी नियन्त्रणका लागि चापाघाटस्थित कालीभञ्जन गण (ई), नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी लागिपरेका थिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले आगलागीको खबर पाउनासाथ गृहमन्त्रालयमार्फत हेलिकप्टर पठाउन निर्देश गरिएको बताउनुभयो । ‘दमौलीमा इतिहासमै पहिलो सबैभन्दा ठूलो घटना हो, आगलागीबाट क्षति पुगेका पीडित पक्षलाई सरकारमार्फत सहयोग पुर्याउनेछ, हेलिकप्टरको चार्ज गृहमन्त्रालयले व्यहोर्छ,’ केस भण्डारीले भन्नुभयो – ‘इतिहासमै पहिलोपटक दमौलीमा ठूलो घटना घटेको छ, यसलाई सरकारले सहयोग गर्छ ।’

प्रतिक्रिया दिनुहोस्