धुलिखेलको चटयाङ्पुर गाउँमा आगलागी विपद् व्यवस्थापन र न्यूनीकरणको पूर्व तयारी


मोतीराम तिमल्सिना, काभ्रे ।

नेपाली सेनाको कालीजंग गण धुलिखेलको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस काभ्रेले विपद् व्यव स्थापन र न्यूनीकरणको पूर्व तयारी अभ्यास गरेका छन् । धुलिखेलको खेल मैदानमा आयोजित कार्यक्रममा भूकम्प तथा आगलागी नियन्त्रणमा सुरक्षा निकाय तथा स्थानीयहरूको भूमिकाका बारेमा अभ्यास प्रदर्शन गरिएको थियो ।

धुलिखेलको खेल मैदानमा पाँच वटा घर निर्माण गरिएका थिए । त्यो गाउँको नाम चटयाङ्गपुर हो । चटयाङ्गपुर गाउँमा सर्वसाधारणहरू चिया पसलमा गफिइरहेका हुन्छन् । केही साइकल खेलिरहेका थिए । बालबालिकाहरू खेलिरहेका थिए । घर भित्र मान्छेहरू आफ्नै धन्दामा व्यस्त थिए ।

चैत्र वैशाखमा लाग्ने जस्तो टन्टलापुर घाम लागिरहेको थियो । एक्कासि एउटा घरमा आगो लाग्छ । आगो नियन्त्रणका लागि रुवाबासी शुरु हुन्छ । गाउँलेहरू जम्मा हुन्छन् । बालबालिकाहरूको चिच्याहट शुरु हुन्छ । एक पछि अर्को घरमा आगलागी हुन्छ । हावाहुरीका कारण व्यक्तिहरू घाइते हुन्छन् ।

भाँडाकुँडा, लत्ताकपडा र रासन समेत निकाल्न नपाउँदै घर घरानी हुन जान्छ । तत्काल नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेडक्रस लगायतको उद्धार टोली आउँछ । आगो नियन्त्रण तथा उद्धारका लागि खटिएको टोलीले घाइतेहरूलाई थप क्षति हुन नदिन सुरक्षित ढङ्गबाट अस्पताल पठाउने काम गर्छन् ।

विपद् व्यवस्थापनका लागि उद्धारका सामाग्री तथा अग्नि नियन्त्रणका लागि गर्नु पर्ने पूर्व अभ्यासमा नेपाली सेनाको टोलीले सहभागीहरूलाई जानकारी गराएको थियो । लगत्तै नेपाली सेना र सशस्त्र प्रहरीले भूकम्प पछि पुरिएका नागरिकहरूको सकुशल उद्धारको अभ्यास गरेका थिए । घरको तीन चार तल्ला मातिबाट सकुशल व्यक्तिहरूको उद्धारका लागि सेना र सशस्त्रको अभ्यासले नागरिकहरूमा उत्साह जागेको थियो ।

नेपाल प्रहरीले ग्याँसको सिलिण्डरबाट आगलागी हुँदा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने अभ्यास देखाएको थियो । तत्कालै ग्याँसको पाईप बन्द गर्ने, बीचमा रहेको खाली भागमा एउटा औलाले बन्द गर्ने र अक्सिजन बन्द गर्न चिसो मण्डी यथार्थ अन्य कुनै सामाग्री र बाल्टिनीले छोपिदिने जस्ता अभ्यास देखाएको थियो ।

सुरक्षा निकायसँग रहेका विपद् व्यवस्थापनका सामाग्रीहरूको पनि सोही क्रममा प्रदर्शनी गरिएको थियो । कार्यक्रममा बोल्दै नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले तीन तहकै सरकारको दायित्व भित्र रहेको विपद् व्यवस्थापनलाई वडा तहमा नै हरेक क्षेत्रबाट सक्षम बनाउनु पर्ने बताउनु भयो ।

भूकम्प, पहिरो, आगलागी जस्ता विपदबाट बच्न स्थानीय तहमै तालिम प्राप्त जनशक्ति र सामाग्री उपलब्ध गराउनु पर्नेमा जोड दिनु भयो । त्यहि अभियानका क्रममा स्थानीय सरकारले विपद् व्यवस्थापन समिति वडा तहमै गठन गरी विपद् कोष समेत स्थापना गरिसकेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

विपदमा सबै क्षेत्रको समन्वय र सहकार्य आवश्यक रहेको अध्यक्ष ब्याञ्जुको भनाई थियो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले विपद् व्यवस्थापन न्यूनीकरण पूर्व तयारी अभ्यास स्थानीय तहसम्म लैजान आवश्यक रहेको बताउनु भयो । तीन तहका सरकारको जिम्मेवारीमा रहेको विपद् व्यवस्थापनलाई सामाग्री र जनशक्तिले पूर्ण बनाउनु पर्ने बताउनु भयो ।

सुरक्षा निकायले गरिरहेको पूर्व तयारी तथा विपद्को उद्धार र व्यवस्थापनमा सरोकारवाला निकायहरू सबैको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो ।

पूर्व तयारी अभ्यासका क्रममा धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, नेपाली सेना कालीजंग गणका गणपति कर्णेल मिलन थापा, प्रहरी प्रमुख एसपी चक्रराज जोशी, सशस्त्र प्रहरीका एसपी सुरेन्द्र बुढाथोकी, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख एसपी नगेन्द्र दाहाल, वडा अध्यक्षहरू, कार्यालय प्रमुखहरू, विद्यार्थीहरू, रेडक्रसकर्मीहरूको सहभागिता रहेको थियो ।