मुगु अस्पतालमा अक्सिजन प्लान्ट मेसिन जडान


वीरबहादुर बम,मुगु ।

जिल्ला अस्पतालमा मुगुमा अक्सिजन प्लान्ट मेसिन जडान गरिएको छ । यसले जटिल समस्याका बिरामीको उपचार सहज बनाउनेछ । अक्सिजन प्लान्ट नहुँदा जिल्लामा कोरोना संक्रमितको उपचारमा समेत समस्या भएको थियो । मानव अधिकार तथा वातावरण विकास केन्द्रले प्याक टु लाइफको ८० लाख रुपैयाँ सहयोगमा अक्सिजन प्लान्ट मेसिन खरिद गरी अस्पतालमा जडान गरेको हो ।

मेसिन जडान सकिएसँगै  सिलिन्डर भर्न थालिएको अस्पतालले जनाएको छ । संस्थाले अस्पताललाई १र१ थान पोर्टेबल एक्सरे मेसिन, प्यासेन्ट मनिटर र यूएसई मेसिनसमेत दिएको छ । सबै उपकरणहरू १ करोड ४५ लाख रुपैयाँमा खरिद गरी अस्पताललाई प्रदान गरिएको हो ।
अस्पतालमा अक्सिजन प्लान्ट जडान भएपछि बिरामीलाई अक्सिजन दिन सहज भएको चिकित्सक डबल मल्ल को भनाइ छ ।

‘अब अक्सिजनका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यताबाट मुक्ति पाइएको छ,’ अस्पतालका डा. नहकुल शाहीले भने, ‘फेरि कोरोना महामारी फैलिए पनि जटिल अवस्थाका संक्रमितको यही उपचार गर्न सक्छौँ, दीर्घ रोगी र जटिल समस्या भएका अन्य बिरामीको पनि उपचार सहज भएको छ ।’ जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट नहुँदा कोरोना महामारीको समयमा जटिल अवस्थाका संक्रमितलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेत रिफर गर्नुपर्ने बाध्यता थियो । अस्पतालमा जडान गरिएको प्लान्टले एक दिनमा २४ वटा सिलिन्डर भर्न सक्छ भने एकैपल्ट ६ वटा सिलिडर भर्न सक्ने क्षमता छ । जिल्ला अस्पतालमा उत्पादन भएको अक्सिजन अब सोरु, खत्याड र मुगु मकार्मारोङ गाउँपालिकाका स्वास्थ्य केन्द्रहरूमा पनि लैजान सहज भएको छ । दमका बिरामीको पनि उपचार जिल्लामै सहज भएको डा। शाहीले बताए ।

जिल्ला अस्पतालमा कर्णाली प्रदेश सरकारको सहयोगमा १ वर्षअघि खरिद गरिएको अक्सिजन प्लान्ट भने अलपत्र परेको छ । कर्णाली प्रदेश सरकारको ४० लाख रुपैयाँ बजेटबाट १ वर्षअघि अक्सिजन प्लान्ट मेसिन खरिद गरी मुगु ल्याइएको थियो । प्रतिघण्टा ४० सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमता रहेको उक्त अक्सिजन प्लान्ट अहिले अस्पतालको कुनामा थन्क्याइएको छ । अक्सिजन प्लान्ट खरिद प्रक्रियामा अनियमितता भएको भन्दै प्रदेशसभाको लेखा समितिले छानबिन सुरु गरेपछि अक्सिजन प्लान्ट अलपत्र परेको हो ।

सरकारी बजेटको प्लान्ट अलपत्र परेपछि दाताहरूको सहयोगमा अक्सिजन प्लान्ट जडान गरिएको जिल्ला स्वास्थ्य सेवा प्रमुख उमेश गौतमले बताए । उनका अनुसार प्रदेश सरकारको ४० लाख रुपैयाँ बजेटबाट हायात प्रालिले चीनबाट खरिद गरी ल्याएको अक्सिजन प्लान्ट मेसिन अलपत्र परेको हो । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान सँगै जिल्लाका बिरामी उपचाकलागि रिफर गरिने संख्यामा कमी आउने छ।