निर्माण कम्पनीको लाप्रवाहीले बुटवल कालिकापथका व्यवसायी चिन्तित


यमलाल भुसाल, बुटवल  । 

निर्माणाधीन योगिकुटी–पुरानो बसपार्क सडकको धुलोले कालिका पथ क्षेत्रमा भएका होटेल, रेस्टुरेन्ट, पसल तथा घरहरू धुलाम्मे हुने गरेका छन् ।यहाँको जनजीव प्रभावित भएको छ ।

निर्माण कम्पनीले आवश्यक मापदण्ड पूरा नगरी निर्माण कार्य गर्दा कालिका पथ क्षेत्रमा भएका व्यवसायी समस्यामा परेका हुन । उक्त सडक हुँदै दैनिक यात्रा गर्नेहरूको स्वास्थ्यमा समेत नराम्रोसँग असर गरेको छ । निर्माण कम्पनीले सडक बनाउने क्रममा धुलो नियन्त्रणका लागि राख्नु पर्ने भए पनि त्यसो नगरिएको भन्दै उपभोक्ता हित संरक्षण मञ्च बुटवल उपमहानगरले ध्यानाकर्षण गराएको छ । मञ्चका अध्यक्ष समुन्द्र जिसीको नेतृत्वको टोलीले आइतबार लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

बुटवलको बीच मागमा रहेको मुख्य सडक सिद्धार्थ राजमार्ग तथा महेन्द्र राजमार्गको बाइबास सडकका रूपमा रहेको कालिका पथ निर्माणमा समेत ढिलासुस्ती भएको भन्दै मञ्चले नियामक निकायबाट प्रभावकारी अनुगमनको खाँचो ल्याएको छ । मन्त्रालयका सचिव अमृत श्रेष्ठलाई बुझाइएको ध्यानाकर्षण पत्रमा हाल निर्माणाधीन अवस्थामा रहेको उक्त सडकको निर्माण कार्य अत्यन्त ढिलासुस्ती र भरपर्दो अनुगमन नहुँदा निर्माण कम्पनीबाट लाप्ररवाही हुनसक्ने कुरा अवगत गराउन चाहान्छौं ।

निर्माणको क्रममा उक्त सडकमा अत्यन्तै धुलो धुवाँका कारण उपभोक्ताको स्वास्थ्य र दैनिकीमा प्रतिकूल असर पर्न गएको हुँदा उक्त सडकमा यथाशीघ्र पानी सिञ्चित गरी आम नागरिकलाई सहज हिँडडुल तथा व्यापार व्यवसाय गर्ने सहज वातावरण सिर्जना गरिदिनु हुनको लागि अनुरोध गर्दछौ । होटेल व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतम, बुद्ध टोल विकास समितिका अध्यक्ष शेरबहादुर गुरुङ, होटेल तथा पर्यटन व्यवसायी माधव नेपाल, माधव खनाल, मोहन पाण्डे, मोराकान्त पाण्डे, काशीनाथ पौडेल लगायतले संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाउँदै जनस्वास्थ्यमा ख्याल गरिदिनु नियामक निकाय तथा निर्माण कम्पनीलाई समेत आग्रह गरेका थिए । पछिल्लो समय होटेल तथा रेष्टुरेन्टहरुको हबका रूपमा विकसित हुँदै गएको यस क्षेत्रमा निर्माणाधीन सडकको धुलोले जनजीवन नै अस्तव्यस्त हुने गरेको उनीहरूले गुनासो गरेका  छन्।

लामो समय कोरोना महामारीले प्रभावित भइरहेका बेला सडकको धुलोले जनस्वास्थ्यमा असर पार्नुका साथै यस क्षत्रको व्यापार व्यवसायमा समेत नराम्रोसँग प्रभाव पारिरहेको व्यवसायी तथा स्थानीयहरूको गुनासो छ । कालिका पथ निर्माणको जिम्मा बिरुवा, काल गण्डकी, सिद्धार्थ जेभीले पाएको छ । उक्त कम्पनीले भ्याट सहित १५ करोड ९१ लाख ९९ हजारमा निर्माणको जिम्मा लिएको हो । निर्माण कार्यमा भएको ढिलासुस्तीले समयमै काम सकिनेमा आशङ्का उत्पन्न भएको छ । २४ महिनामा सक्ने गरी ठेक्का सम्झौता भएको यो आयोजनाले आधा अवधि सकिँदा एक चौथाइ मात्रै काम सम्पन्न गरेको छ ।