मरेपछिको सम्मान लिन को जाने भन्ने चिन्ता छ : लक्ष्मी गिरी

0
Shares

चरित्र भूमिका होस् या हाँस्य, कर्कसे सासु होस् या मायालु आमा अथवा बोल्ड नारी होस् या लडाकु महिला हरेक भूमिकामा सशक्त अभिनय गरेर दर्शकको मन जित्दै आएकी लक्ष्मी गिरीले नेपाली कला क्षेत्रलाई समय समर्पण गरेको पनि चार दशक पुगिसकेको छ। ६८ वर्षे उमेरमा पनि प्याराग्लाइडिङ गर्ने अनि स्टन्टम्यानको सहयोग नलिई लाइभ फाइटदेखि घोडचढीसमेत आफैं गरेर साहसिक अभिनेत्रीको छवि बनाएकी गिरीले नाटक, प्रहसन, टेलिफिल्म, फिल्ममा अभिनय गरेर भिन्न परिचय स्थापित गरेकी छन्। २०२१ सालमै नेवारी नाटक माँ मरुपीमा अभिनय गरी अभिनय क्यारियर शुरू गरी फेरि भेटौँला, भुमरी, सीमारेखा, लोभी पापी, छक्का पञ्जा २ र ३, जय भोले, रातो टीका निधारमाजस्ता डेढ सय फिल्म, अप्रिल फुल, आजभोलिका कुरा, हिजो आजका कुरा, देवी, चेतना, जिरे खुर्सानी, तितो सत्य, मेरी बास्सै, परिचय, गंगा जमुना, सन्ततिको लागिलगायतका एक सय बढी टेलिफिल्मका विभिन्न भूमिकामा छाउँदै आएकी उनी समाजसेवामा पनि सक्रिय छन्। तर, उनी अरूले जस्तो समाजसेवा गरेका समाचारलाई बाहिर ल्याउँदिनन्। मह जोडीदेखि नयाँ पुस्ताका विभिन्न कलाकर्मीदेखि निर्माता निर्देशकसम्मले पहिलो नम्बरमा खोज्ने अभिनेत्री साबित हुँदै आएकी उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ :

  • रश्मी थापा

हाल के गर्दै हुनुहुन्छ?

केही दिनअघि मात्र ह्यारीकी प्यारी नामक फिल्मको शुटिङ सकेर पाल्पाबाट काठमाडौं फर्किएँ। अहिले मेरी बास्सै, बुहारी, हामी यस्तै त हो नी ब्रोजस्ता टेलिफिल्ममा काम गरिरहेकी छु।

चार दशक लामो अभिनय जीवनलाई कसरी सम्झनुहुन्छ?

मलाई सानैदेखि नै अतिरिक्त क्रियाकलापमा रुचि थियो। पशुपति क्षेत्रमा हुर्किएको मेरी हजुरआमा देवकुमारी नेपालकै पहिलो नर्स हुनुहुन्थ्यो। उहाँ छोरीहरूलाई अघि बढाउनुपर्छ भन्ने सोचको हुनुहुन्थ्यो। त्यही कारण पनि मैले धेरै सहयोग पाएँ।

पशुपतिमा शिवरात्री, कृष्ण अष्टमीजस्ता धार्मिक पर्वमा हुने विभिन्न कार्यक्रममा त्यहाँका मानिसले ए त्यो नर्सनी बज्यैको उत्ताउली नातिनीलाई नाच्न बोलाउनुपर्छ भनेर बोलाउने गर्थे। तर, आफ्ना छोरीहरूलाई चाहिँ नाच्न गाउन अघि सार्नु हुन्नथ्यो।

त्यो पनि मलाई राम्रै भयो। अहिले यत्रो चर्चा त कमाएको छु नि। त्यतिबेला पशुपति क्षेत्रमा कृष्ण मानन्धर परिवारको ठूलो पसल थियो। उहाँ, सँर्यमान श्रेष्ठलगायतले चाहिँ सम्मानपँर्वक नानी तिमी राम्रो नाच्छौ, अझ राम्रो गर्नुपर्छ भनेर हौसला दिने गर्नुहुन्थ्यो। त्यसपछि, २०४२ सालमा नेपाल टेलिभिजनको स्थापनाको दिनदेखि नै यस्तै हुन्छ भन्ने सिरियलहरूमा अभिनय गर्न थालेँ।

यस्तै हुन्छको एप्रिल फस्ट भन्ने भागमा काम गरेको म आजभोलिका कुरा, हिजोआजका कुरा, गंगा जमुना, परिचय, मेरी बास्सैलगायतका टेलिफिल्मदेखि लिएर विभिन्न फिल्म खेल्दै अहिलेसम्म पनि फिल्म, टेलिफिल्म, विज्ञापन, म्युजिक भिडियो आदिमा निरन्तर काम गरिरहेको छु। तर, यत्रो समयसम्म मैले कला क्षेत्रका लागि केही गर्न सकेको रहेनछु कि भन्ने लाग्छ।

यदि, केही गरेको भए त राज्यबाट हामीजस्ता कलाकारका लागि केही सम्बोधन हुनुपर्ने हो। साहित्यमा लागेको व्यक्तिलाई नेपाल प्रज्ञा प्रतिष्ठानले आजीवन सदस्य भनेर सम्मान दिन्छ। तर, हामी फिल्म क्षेत्रमा निरन्तर काम गर्नेहरूबारे चासो लिने कोही पाइनँ।यदि, कसैले यस्ता टेलिफिल्म हेर्न चाह्यो भने नेपाल टेलिभिजनमा लाइब्रेरी छ कि छैन? तर, उहाँहरूबाट नेपाल टेलिभिजनबाट कलाकारको रेकर्ड राख्ने काम हाम्रो होइन भन्ने जवाफ पाएँ। सत्तामा बस्नेहरूलाई हारालुछ गर्दै ठीक छ, के गर्ने?

तपाईंजस्तो दशकौंदेखि यो क्षेत्रमा योगदान गरिरहनुभएको कलाकारलाई पनि राज्यले हेर्दैन है?

राज्य भन्ने के हो ? कहाँ छ खै राज्य? भए पनि राज्यमा बस्ने मानिसहरू आफैंलाई भाग पुग्दैन। सायद, त्यही कारण कलाकारबारे सोच्न भ्याउँदैनन्। कलाकारका लागि चलचित्र विकास बोर्डको स्थापना भएको पनि कति समय भइसक्यो।

अहिले दयाराम दाहाल अध्यक्ष छन्। उहाँ र हामी सँगसँगै काम गरेका हौँ। तर, खै कलाकारका लागि काम गर्न नियम कानुन नै छैन कि ? कलाकारहरूले सम्मान कहिले पाउने हो ? म त बाचुञ्जेल कला क्षेत्रमै काम गर्छु अहिले नदिएको सम्मान मरेपछि त देलान् कि? तर, मरेपछिको सम्मान लिन को जाने भन्ने चिन्ता छ।

कलाकारका लागि के गर्नुपर्छ राज्यले?

राज्यले कलाकारका लागि धेरै कुरा गर्नुपर्ने हो, तर गरेको छैन। अहिले आएर सोच्दा पुराना कलाकारको त केहीको घर होला, तर नयाँ कलाकारको त प्रायको घर हुँदैन।

उमेर छउन्जेल त यसको खासै महसुुस हुँदैन, तर जेष्ठ नागरिक भइसकेपछि चाहिँ आफँ बस्न तथा आफ्ना क्षेत्रका व्यक्तिसँग भेटघाट र छलफल गर्न शितल चौतारी चाहिने रहेछ भन्ने लाग्छ।

परिवारमा बसेर आफ्ना क्षेत्रका साथीहरूसँग छलफल गर्ने वातावरण नमिल्न सक्छ। त्यसकारण पनि प्रत्येक नगरपालिकाले कलाकारको परिवारले घर बनाउँदा उनीहरूका लागि छुट्टै फ्ल्याट निर्माण गर्ने व्यवस्था गर्नुपर्छ। अथवा कुनै ठाउँमा ज्येष्ठ नागरिक कलाकारका लागि केही रकम तिर्नेगरी नै ज्येष्ठ नागरिक होस्टेलको निर्माण गर्नुपर्छ।

कलाकारिताका लागि राष्ट्र बैंकको त्यस्तो लोभलाग्दो जागिर पनि छोडिदिनुभयो हैन?

हो नि। २०२८ सालमा जागिर खाएको थिएँ। २०५० सालमा स्वेच्छिक अवकाश लिएँ। विभिन्न किसिमका रोल गर्दैै जाँदा एकपछि अर्को फिल्म टेलिफिल्मका अफर आउँदै गएपछि कि कलाकारिता छोड्नुपर्ने भयो, कि जागिर। मैले जागिर छोडेर कलाकारिता रोजेँ।

कहिलेकाहीँ जागिर नछोडेको भए हुन्थ्यो भन्ने लाग्दैन?

कमाइको हिसाबले सोच्दाखेरी त कहिलेकाहीँ बेकार जागिर छोडेछु भन्ने पनि लाग्छ। तर, सबै कुरा पैसा होइन, नाम पनि चाहिन्छ भन्ने भयो।

बैंकमा जागिर खाइरहेको भए सायद मलाई कसैले चिन्दैनथे। कलाकारितामा लागेको कारण नाम कमाएँ, चिनारी पाएँ, यही नै ठूलो कुरा हो।

अभिनयमा लाग्दाका दुःख सुख क्षण कस्ता छन् ?

दुःख सुख, संघर्ष भनेको जहाँ पनि हुने रहेछ। निरन्तर कला क्षेत्रमा इमान्दारीका साथ काम गरिरहँदा, लगातार विभिन्न फिल्म र सिरियलमा रोल पाइरहँदा पुरानै कलाकारहरूले पनि त्यो रोल लक्ष्मीलाई मात्र किन, हामीलाई चाहि नदिने? भन्ने गरेको पनि पाएँ।

निर्देशकहरूले यो भूमिका तपाईंलाई सुहाउँदैन, उहाँलाई सुहाउने भएकाले खेलाएको हो भनेर बुझाएको पनि पाएँ। तर, त्यस्तो कुराले मलाई केही फरक पार्दैन। सुखको क्षण पनि धेरै छन्। आफ्नो भँमिकाका कारण ठाउँ–ठाउँमा दर्शकले प्रतिक्रिया दिँदा र माया दिँदा खुसी लाग्छ।

तपाईं फिल्म र बाहिरी जीवनमा हिरो हिरोइनले आँट नगर्ने ड्राइभिङ, घोडचढी, लाइभ फाइट, प्याराग्लाइडिङ, जम्प गर्नुहुन्छ। यो उमेरमा पनि यत्रो ठूलो साहस कहाँबाट आउँछ?

ऊ बेलाको कुराहरूले यो उमेरमा पनि जोश आउँदो रहेछ। मेरी हजुरआमाको कारणले गर्दा मैले त्यति बेला स्काउटको तालिम लिने मौका पाएँ।  मलाई स्काउटको तालिममा गएको देखेर स्थानीय पुढापाकाले नेवारी लवजमा यो बज्यैले के गरेको होला नातिनीलाई छोटा–छोटा पिँडुलासम्मको लुगा लगाएर पठाउँछ भन्थे।

केटाहरूले मात्र पौडी खेल्ने गरेको २०२६ सालको समयमा स्काउटबाट हामीहरू ४/५ जना केटीले पौडी पनि सिक्यौँ। तीमध्ये निरन्तर पौडी खेल्नेचाहिँ म मात्र रहेँ।  अलिअलि फाइट पनि सिकेँ। त्यस्तै, म स्कुल पढ्दा घोडचढी सिकाउने भएकोले घोडचढी पनि गरेको थिएँ।

कर्मघर हलेसीमा ससुराबाको ५/६ वटा घोडा भएकोले घोडालाई के–कस्तो व्यवहार गर्नुपर्छ भन्ने थाहा थियो। सुटिङमा पनि भाइहरूले यसरी गर्नुस है भनेपछि तुरुन्तै गरिदिएँ। जे काम गरे पनि मन लगाएर गर्ने र सिक्ने बानी पहिल्यैदेखि थियो। त्यही बानीले गर्दा पनि अहिलेसम्म यस्ता काम गरिरहेको छु।

पछिल्लो समयमा हास्य भूमिकामा छाउनुभएको छ नि?

पहिलो सिरियल एप्रिलफुल नै हास्य सिरियल गरेको हो। त्यसपछि, पनि लगातार हास्य भूमिका नै गर्दै आएको छु।  छुच्ची बुढी पनि कडा खालको स्वभाव भएको हास्य शैलीकै थियो। पछिल्लो समयचाहिँ बरु नरम खालका रोलमा काम गर्दै आएकी छु।

छुच्ची बुढीदेखि हास्य भूमिकासम्म लोकप्रियता कमाउँदा कस्तो अनुभूति हुन्छ ?

लोकप्रियता कमाउँदा निकै खुसी लाग्छ। मानिसहरू मेरो अभिनय हेरेर पहिला पहिला पनि राम्रो लाग्छ भन्थे। गणतन्त्र आउनुभन्दा पहिले केही गैरजिम्मेवार व्यक्तिले बाटोमा हिँड्दा सिरियलको रोल सम्झेर छुच्ची बुढी आई भनेर जिस्काउने गर्थे।

साना–साना नानीहरूले पनि ऊ छुच्ची बुढी आई भन्दा आमाहरू पनि गलल्ल हाँस्दाखेरिचाहिँ नरमाइलो लाग्थ्यो। तर, अहिले त्यस्तो छैन।नानीहरूले छुच्ची आमा आउनुभयो भन्छन्। धेरै ब्रेभ लेडी भन्छन्।

कतिपय ठाउँमा फिल्ममा मैले गरेका फाइट, घोडचढीको दृश्य सम्झेर तपाई त यो उमेरमा पनि फाइट गर्नुहुन्छ है भन्छन्। तपाईं प्रोफेसन हर्ष राइडर हो भनेर सोध्छन्।

छक्का–पञ्जाको प्रिमियरमा उपमहारथीज्यँले पनि घोडचढीको सिन देखे तपाईं प्रोफेसनल हर्ष राइडर हो भनेर सोध्नुभएको थियो। उमेरले अब ६९ लाग्न लागेँ, तर अहिलेसम्म काम गरिरहेकी छु। अब धेरै गरे ५/६ वर्ष होला काम गर्ने। उमेर धेरै भए पनि कला क्षेत्रमा स्मार्ट भएर काम गर्ने कोशिस गरेकी छु।

त्यो बेला अभिनयबाट कतिको कमाइ हुन्थ्यो ? अहिले कस्तो छ ?

त्यो बेला पनि अवस्था दरिद्र थियो, अहिले पनि दरिद्र नै छ। बरु पहिले ०४२ सालतिर नेपाल टेलिभिजनले एपिसोडको हिसाबले २५ सय रुपियाँ दिन्थ्यो। अहिले पाँच हजार दिन पनि भाइहरू थरथर काप्छन्।

हुन त दुई वर्षयता कला क्षेत्रको अवस्था राम्रो छैन। त्यहि कारण पनि निर्माताहरूलाई मलाई यति नै चाहिन्छ भन्ने गरेको छैन। प्रोड्युुसर रहेमा मात्र हामी कलाकार रहने हो। उनीहरूलाई गाह्रो परेका बेला हामीले पनि बुझ्नुपर्छ अनि मात्र कला क्षेत्र रहन्छ। कोभिडको बेला पनि कला क्षेत्रलाई बचाउनुपर्छ।

फ्रन्टमै बसेर काम गर्नुपर्छ भन्दै सिरियलहरूमा काम गरिरहेँ। मैले खेलिरहेको एउटा सिरियलको दुई एपिसोड रोक्नुपर्छ भन्दा पनि मैले स्वास्थ्य मापदण्ड अपनाएर काम गर्नुपर्छ भन्दै उक्त सिरियल रोक्न दिइनँ। त्यसो गर्दा मलाई तपाईं त कस्तो जर्बजस्ती पनि भनेका थिए।

तपाईंले यतिका धेरै सिरियल र फिल्म गर्नुभएको छ, पारिश्रमिकबिनै काम लगाउनेहरू पनि छन् कि?

शुरुशुरुमा काम गर्दा दिदी त बैंकको जागिरे यति दिन्छौ है भन्थे। कोहीले पछि है भन्थे। म आफँले ऋण दिएको मान्छेलाई त म मेरो पैसा लेउ भन्न सक्दिनँ, त्यसैले दोहोर्‍याएर मेरो पारिश्रमिक देऊ भनेर माग्दिनँ। तर, धेरथोर भन्ने मात्र हो पारिश्रमिक त्यो बेला पनि दिने गर्थे अहिले पनि दिने गर्छन्।

सित्तैमा काम गरेँ भन्ने कलाकार पनि छन् । तर, खासमा ती चाहिँ अभिनयमा आउनका लागि विना पैसा भए पनि खेल्ने र पछिपछि चाहिँ मैले सित्तैमा काम गरे भन्नेहरू हुन् । आफैँलाई सबै कुरा आउँछ र परफेक्ट भएर अभिनयमा आएको हो भने यति पारिश्रमिक चाहियो भन्न सकिन्छ। तर, रहरका कारण सिक्नको लागि आइन्छ भने त्यस्ता कलाकारले केही समय विना पैसा खेल्नुपर्छ।

इन्स्टिच्युटमा अभिनय सिक्नका लागि पैसा तिर्नुपर्छ, कला क्षेत्र पनि नया कलाकारका लागि इन्स्टिच्युट हो। त्यसमा उनीहरूले आफ्नै रहरले सित्तैमा अभिनय गर्नुलाई विना पारिश्रमिक खेलेको भन्न मिल्दैन।

डाक्टरले त प्राक्टिसका लागि कुनै ठाउँमा गएर ६ महिनासम्म सित्तैमा काम गर्छ भने कलाकारले पनि सिक्नका लागि विना पैसा काम गर्नुलाई पारिश्रमिक दिएन भन्न मिल्दैन। तर, जहाँ पनि महिलालाई नै गाह्रो छ।

फिल्ममा पनि महिला र पुरुषले उस्तै काम गरे पनि पुरुषले यति लाख लियो उति लाख लियो भनेको सुनिन्छ। त्यो होला नहोला, त्यसको एक छेउ त लिएको होला नि। तर, महिला कलाकारले राम्रो पारिश्रमिक भने पाएका छैनन्। मैले कला क्षेत्रमा काम गरेको यतिका वर्षमा पनि एक लाख लिने वातावरण अहिलेसम्म मिलेको छैन।

अहिलेको कला क्षेत्रमा के कस्ता कमीकमजोरी देख्नुहुन्छ?

कमीकमजोरी भन्दा पनि फिल्म क्षेत्र पहिलेभन्दा एडभान्स भएको छ। कला क्षेत्रमा अहिले बढ्दो कम्पिटिसन छ। राम्रा फिल्म बनेका छन् र कला क्षेत्र व्यवसायिक बनेको छ। प्रविधिको हिसाबमा चाहिँ नयाँ–नयाँ प्रविधि आएअनुसारको दक्ष प्राविधिकको कमी महशुस गरेको छु।

नेपाली फिल्म अन्य देशमा बजारीकरण हुन नसक्नुको कारण के होला?

पछिल्लो दुई वर्षको कुरा गर्नुपर्दा कोरोना महामारीका कारण फिल्म क्षेत्र अघि बढ्न सकेको छैन। तर, देश गणतन्त्रात्मक अवस्थामा गएपछि १७/१८ वर्षयता भने प्रविधि राम्रो भएर राम्रा फिल्म बने पनि देशको राजनीतिक उथलपुथलका कारण नेपाली फिल्मको अन्य देशमा बजारीकरण हुन सकेन। त्योभन्दा अघि त हामी प्राविधिक कुरामा धेरे पछाडि थियौँ। त्यही कारण पनि हामी पछाडि पर्‍यौं जस्तो लाग्छ।

अत्यमा केही ?

हामी कला क्षेत्रमा रहँदै दृष्टिविहीनहरूको दृष्टि र आवाज विहीनहरूको आवाज बन्ने खालका फिल्महरू निर्माण भइदिएर आफैले पनि खेल्न पाए हुन्थ्यो जस्तो लाग्छ। आफैले अभिनय गरेर उनीहरूले पनि बुझ्ने गरी मनोरञ्जन दिन सके हुन्थ्यो जस्तो लाग्छ। मलाई यसको ठूलो रहर छ।