रुद्रमति धोविखोला सरसफाइ महाअभियान दोस्रो चरणमा


न्युज अफ नेपाल काठमाडौं । 

सफा गरिसके पछि फोहोर नगरौँ भन्ने नाराका साथ २०७० सालदेखि सुरु भएको रुद्रमत धोविखोला सरसफाइ महाअभियान दोस्रो चरणमा प्रवेश गरेको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरण र बुढानिलकण्ठ नगरपालिकाको सहयोग र सहकार्यमा आयोजित उक्त कार्यक्रममा सहरी विकास मन्त्रालयमा मन्त्री रामकुमारी झाँक्रीले सरसफाइ गर्नु भन्दा पनि फोहोर नै नगर्ने संस्कारको विकास गर्नुपर्ने बताइन् । स्थानीय बासीहरूले हप्ताभरि सडक र अन्य सार्वजनिक स्थानमा फोहोर फ्याँक्ने अनि अभियानको नाममा एक दिन अभियन्ताहरूले फोहोर उठाउनु पर्ने हो भने फोहोर व्यवस्थापनको कार्य थप चुनौतीपूर्ण हुने मन्त्रिझाँक्रीले बताइन्  ।

त्यस्तै उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले फोहोर सफा मात्रै गर्ने भन्दा पनि फोहोरलाई स्रोतबाट नै कम गर्न आवश्यक रहेको र त्यसको लागि यो अभियानले जनचेतना जगाउने विश्वास रहेको  बताइन् । कार्यक्रम मा सहरी विकास मन्त्रीले म मेरो वासस्थान र कार्यस्थल वरपर सधैँ सफा राख्छु । म नदीनालामा फोहोर कहिले पनि फाल्दिन ।रुद्रमती खोला संरक्षणका लागि निरन्तर लाग्ने छु भन्ने प्रतिबद्धता पढेर सुनाएकी थिइन् । कार्यक्रममा गगन कुमार थापाले जथाभाबी फोहोर फाल्ने प्रवृत्तिमा सुधार नहुन्जेल सडक खोलाहरू सफा नहुने भएकोले फोहोर व्यवस्थापनमा जोड दिनुपर्ने बताए ।

दोस्रो चरणको सरसफाइको शुभारम्भ कार्यक्रममा गगन कुमार थापा, प्रदेश सांसद, सहरी विकास मन्त्रालयका सचिव, बुढानीलकण्ठ न.पा.का मेयर, उपत्यका  विकास प्राधिकरणका नायब विकास आयुक्त, रुद्रमती सरोकार समाजका अध्यक्ष, वडा अध्यक्षहरु, १० सेक्टरका संयोजकहरु लगायत विभिन्न संस्था र रुद्रमती सफाइ अभियन्ता लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।