निःशुल्क शिविरबाट ३ सय ५५ ले लिए सेवा


लमजुङ ।

उत्तरी लमजुङको मस्र्याङ्दी गाउँपालिकामा शनिबार गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ९२ जनाले दाँतसम्बन्धी र २ सय ६३ जनाले आँखासम्बन्धी सेवा लिएका छन् । वडा नम्बर ३ स्थित खुदी स्वास्थ्य चौकीमा सो शिविर भएको थियो ।

जसमध्ये २७ जना जिल्ला अस्पतालमा रिफर गरिएको जिल्ला अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो । शिविरमा जिल्ला अस्पतालका प्रमुख हेमन्त श्रेष्ठको नेतृत्वमा अस्पतालका डा. सरोज महर्जन र नेत्र सहायक दीप गुरुङसहितको स्वास्थ्यकर्मीको टोली र खुदी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले सेवा दिएका थिए ।

ग्रामीण भेगका नागरिकलाई स्थानीयस्तरमै स्वास्थ्य सेवा दिने उद्देश्यले गाउँपालिकको त्रिशक्ति महिला सञ्जालले १ सय १२औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शिविरको आयोजना गरेको हो । ‘सामाजिक न्याय र लैंगिक समानता दिगो विकासको सनिश्चितता’ भन्ने नाराका साथ गाउँपालिकाको आर्थिक सहयोग र जिल्ला अस्पताल लमजुङको प्राविधिक सहयोगमा शिविर भएको थियो ।

शिविरमा आएका व्यक्तिहरुकोे आँखा तथा दाँतको परीक्षणपश्चात् सम्बन्धित समस्याको निःशुल्क औषधि वितरण गरिएको थियो भने ४७ जनालाई चस्मा वितरण गरिएको थियो ।कार्यक्रमको मस्र्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले उद्घाटन गर्नुभएको हो । पालिकावासीको नियमित स्वास्थ्य परीक्षण गरी सम्भावित जोखिमबारे बेलैमा सचेत गराउन समय–समयमा स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्नेमा उहाँले भनाइ राख्नुभएको थियो । पालिकावासीको स्वास्थ्यलाई प्रथामिकतामा लागि गाउँपालिकाले यस्ता कार्यक्रमलाई सहयोग गर्दै आएको समेत उहाँ बताउनुभयो ।