संस्थापनको लडाइँले कोइरालाको विरासत जोगियो


बाँके ।

नेपाली कांग्रेस बाँकेमा संस्थापन समूहको लडाइँको फाइदा कोइराला समूहले लिएको छ । सभापतिका दुई जना प्रतिस्पर्धी हुनु र दोस्रो चरणको निर्वाचनमा आपसी लडाइले संस्थापन समूह तितरवितर हुँदा कोइराला पक्षले त्यसको फाइदा लिएको हो ।

बाँकेमा संस्थापनको लडाइँले गर्दा गुम्दै गरेको कोइरालाको विरासत जोगिएको छ । सभापतिमा संस्थापनबाट बादशाह कुर्मी र सुरेन्द्र हमाल तथा कोइराला समूहबाट नारायणप्रसाद गौडेलले प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणमा कसैको पनि ५० प्रतिशतभन्दा बढी मत आएन । पहिलो चरणमा गौडेल प्रथम, कुर्मी दोस्रो र हमाल तेस्रो भए । पहिलो चरणमा १ हजार ४५ मतमध्ये गौडेलले ५ सय ६९, कुर्मीले ५ सय ३८ र हमालले ३ सय १४ मत ल्याएका थिए । २४ मत बदर भएको थियो ।

दोस्रो चरणको मतदानमा पहिलो र दोस्रोका बीचमा प्रतिस्पर्धा भयो । दोस्रो चरणमा कोइराला समूहका गौडेलले बाजी मारेका हुन् । गौडेलले ७ सय ६० मत ल्याउँदा कुर्मीले ६ सय ६३ मत ल्याएका थिए । पहिलो चरणको निर्वाचनमा हमालले ल्याएको ३ सय १४ मतमध्ये करिव २ सय मत गौडेलतिर गएको देखिन्छ । संस्थापन समूहका हमालले समर्थन गरिदिएपछि कोइराला समूहका गौडेल विजयी भएका हुन् ।हमाललाई क्षेत्र नं. २ का सभापति रमेश गुप्ताको पूर्णसमर्थन थियो । केन्द्रले संस्थापन समूहबाट हमाललाई उम्मेदवार बनाउने भने पनि छिमेकी जिल्ला बर्दिया निवासी कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले कुर्मीलाई बोकिरहेपछि संस्थापनमा द्वन्द्व सिर्जना भएको नेताहरु बताउँछन् । एक नेता भन्छन्– ‘सभापतिमा बादशाह कुर्मीको होइन किशोरसिंह राठौरको हार हो ।’

राठौरले केन्द्रसँग तालमेल गरेर एउटै उम्मेदवार बनाउन नसक्दा देउवा समूहले पहिलोपटक जित्न थालेको कांग्रेस बाँकेको नेतृत्व फुस्किएको छ । राठौरले या त केन्द्रका नेतालाई मनाएर कुर्मीलाई उम्मेदवार बनाउनुपथ्र्यो या त केन्द्रका नेताले भनिसकेपछि हमाललाई बोकेर हिँड्नुपथ्र्यो’, एक नेताले भने– –यसमा राठौर चुक्नुभयो । मै हुँ भन्ने राठौरलाई मतदाताले देखाइदिए ।’जिल्लाको चुनावले संस्थापन समूहमा भुइँचालो गएको छ । अन्य पदाधिकारीमा मिश्रण परिणाम आएको छ । उपसभापति, सचिवमा दुवै समूहबाट एक–एक जनाले चुनाव जितेका छन् । उपसभापतिमा गोपालप्रसाद अधिकारी र कृष्णबहादुर कार्की, सचिवमा सुधांशु कोइराला र सञ्जुकुमारी चौधरी, सहसचिवमा रेणुसिंह ठाकुर र विनोदकुमार थारू विजयी भएका छन् ।तत्कालीन पार्टी सभापति एवं प्रधानमन्त्री स्व. सुशील कोइरालाको गृह जिल्ला हो, बाँके । अहिलेसम्म जिल्लामा कोइराला पक्षले नेतृत्व गरिरहेको छ ।

स्पष्ट रूपमा पहिलोपटक कोइराला समूह कमजोर देखिएको थियो । संस्थापन समूहमा ‘भाइफुटे गवार लुटे’ भनेझैं भएको छ । समूहमा खैलाबैला मच्चिएको छ । एक–अर्काको रिसरागले गर्दा विरासत गुमेको हो ।स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा कांग्रेसवृत्तमा जिल्ला निर्वाचनलाई बडो गम्भीरतापूर्वक लिइएको छ । टिकट बाँडफाँडमा यसको ठूलो माने रहने नेताहरु बताउँछन् ।