जनकपुरधाम–पोखरा विमान सेवा शुरू

गण्डकीका मुख्यमन्त्री मधेसमा

0
Shares

जनकपुरधाम ।

मधेस प्रदेश र गण्डकी प्रदेशबीचको अन्तरप्रदेशीय विमान सेवा शनिबारदेखि सञ्चालनमा आएको छ । पर्यटनलाई बढावा दिने उद्देश्यले सातामा तीन दिन उडान हुने गरी विमान सेवा शुरू भएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रतिनिधि मण्डल मधेस प्रदेशको भ्रमणमा निस्केकै दिन सो सेवा शुरु भएको थियो । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निमन्त्रणमा तीनदिने भ्रमणका लागि मुख्यमन्त्रीसहितको टोली शनिबार जनकपुर पुगेको हो । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निमन्त्रणमा गत असोज ६ गते मधेस प्रदेशका मुख्यमन्त्री राउत नेतृत्व टोलीले पोखरा भ्रमण गरेको थियो ।

प्रदेशबीच सम्बन्ध विस्तार गर्ने, अनुभव साट्ने र संघीयता सुदृढीकरणमा सहकार्य गर्नुका साथै पर्यटन प्रवद्र्धनका लागि अन्तरप्रदेश भ्रमण गरिएको गण्डकीका मुख्यमन्त्री पोखरेलले बताउनुभयो । सांस्कृतिक महत्व बोकेको जनकपुर र पर्यटकीय महत्व बोकेको पोखराबीच हवाई यातायात सेवा भएपछि दुवै क्षेत्रको पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास लिएको उहाँको भनाइ छ ।

निजी क्षेत्रको उडान कम्पनी बुद्ध एयरले पोखरा–जनकपुर उडान शुरु गरेकै दिन पोखरेल नेतृत्वको टोली जनकपुर आइपुगेको हो । टोलीलाई मधेस प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामसरोज यादव र उद्योग पर्यटन तथा वातावरणमन्त्री शुत्रध्न महतोले स्वागत गरेका थिए ।
टोलीमा अर्थमन्त्री रामजीप्रसाद बराल जीवन, उद्योग तथा पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेल, प्रमुख सचिव रवीलाल पन्थ, पोखरा पर्यटन परिषद अध्यक्ष गोपिबहादुर भट्टराई, पोखरा उद्योग वाणिज्य संघ वरिष्ठ उपाध्यक्ष अर्जुन पोखरेल, नाट्टा पोखरा च्याप्टर अध्यक्ष सञ्जय सिग्देल, महासचिव कमला गिरी, पर्यटन व्यवसायी एवं उद्योगी छन् । नेपाल टुर्स एन्ड ट्राभल्स एसोसिएसन (नाट्टा) पोखरा च्याप्टरले भ्रमणका लागि सहजीकरण गरेको हो ।

गण्डकी प्रदेशको राजधानी पोखराबाट सातवटै प्रदेशमा एयर कनेक्टिभिटी बढाउने लक्ष्यका साथ प्रदेश सरकारले समन्वय गर्दै आएको छ । यसअघि मधेस प्रदेशको सिमरासम्म पोखराबाट बुद्ध एयर उडान थालिसकेको छ । सुदूरपश्चिमको धनगढीमा पनि यही बिहीबारबाट उडान शुरु भएको थियो । भैरहवा, नेपालगन्ज र भरतपुरमा पोखराबाट उडान हुँदै आएको छ ।