बनेपामा थपियो पोलिक्लिनिक


मोतीराम तिमल्सिना, काभ्रे । 

बनेपा नगरपालिका वडा नम्वर ७ मा शनिवारबाट औपचारिक रूपमा ख वर्गको ल्याब सहितको पोलक्लिनिक शुभारम्भ भएको छ । व्यापारिक नगरी बनेपाको पछिल्लो तथ्याङ्क अनुसार ६७ हजार जनसंख्या छ ।

दिनप्रतिदिन जनसंख्या वृद्धि हुँदा नागरिकहरूको चाप अनुसारको गुणस्तरीय सेवा उपलब्ध गराउन पोलिक्लिनकहरु थपिन थालेका छन् ।जिल्लामा पहिलो शिर मेमोरियल अस्पतालले बनेपा लगायत काभ्रे जिल्ला र आसपासका क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको थियो पछिल्लो समय नेपालकै नमुना धुलिखेल सामुदायिक अस्पतालसँगै अन्य निजी र विशेषज्ञ सहितका सुविधा भएका अस्पतालहरू स्थापना हुन थालेका छन् ।

 

कोभिड १९ को महामारी पछि स्वास्थ्य क्षेत्रमा भएको विकास र गुणस्तरका बारेमा जनस्तरमा समेत चासो बढे सँगै विभिन्न क्षेत्रमा पोल क्लिनिक र स्वास्थ्य संस्थाहरू स्थापना हुन थालेका छन् ।

बनेपामा स्थापना भएको कम्युनिटी वेलनेस सेन्टर (सिडब्लुसि पोल क्लिनिक) तथा बनेपा डाईग्नास्टिक ल्यावोरेटोरी एण्ड रिर्सच सेन्टर प्रा.लीको बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह बादेले शुभारम्भ गर्नु भएको थियो । सोही कार्यक्रम बोल्दै नगर प्रमुख बादेले बनेपा क्षेत्रको बढ्दे जनघनत्वसँगै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहले नागरिकहरू सन्तुष्ट हुने बताउनु भयो । बनेपामा आँखा अस्पताल, स्पाइनल इन्जरी, अपाङ्ग बाल अस्पताल लगायतका ठुला ठुला स्वास्थ्य संस्थाहरू समेत रहेकाले अन्य क्षेत्रबाट बनेपामा आउने नागरिकहरूका लागि पनि गुणस्तरीय सेवा प्रदान गर्न बनेपामा शुभारम्भ भएको पोल क्लिनिक सक्षम हुने नगर प्रमुख बादेले बताउनु भयो ।

 


पोलक्लिनिक शुभारम्भ कार्यक्रममा नेपाल उद्योग वाणिज्य सघंका केन्द्रीय सदस्य सुरकृष्ण वैद्य, बागमती प्रादेशिक ल्याबका निर्देशक नारायण कार्की, बनेपा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष वर्ण शाक्य लगायतले गुणस्तरीय सेवाका लागि जिल्लामै पहिलो पटक निजी क्षेत्रबाट ख वर्गको ल्याब सहितको पोल क्लिनिक सञ्चालन भएकोमा शुभकामना दिनु भएको थियो । कार्यक्रममा कम्युनिटी वेलनेस सेन्टरका जनरल ओपिडी डा. सुमित प्रजापतिले गुणस्तरीय ल्याबको प्रयोगबाट व्यक्तिको रोग पहिचानमा महत्त्वपूर्ण हुने बताउनु भयो ।

 

सञ्चालक दिपेश ताम्राकारले बनेपामा स्थापना भएको ल्याब र पोलिक्लिनिकले नागरिकहरूलाई सहज र सरल ढंगबाट सेवा दिने बताउनु भयो । शुभारम्भ कार्यक्रममा ६ सय १० जनाले निःशुल्क सेवा लिएका छन् । सेवा लिने मध्ये ३ सय पुरुष र ३ सय १० जना महिला छन् । सामान्य परीक्षण १ सय ७५ जनाले गरेका छन् भने दाँतको सेवा २ सय ७ जनाले लिएका छन् । महिलामा हुने विभिन्न खालका रोगहरूको परीक्षण तथा अन्य सुगर र थाईराईड सम्बन्धी परीक्षणमा पनि सहभागिता जनाएका छन् । जनरल ओपिडीमा डा. सुमित प्रजापति र डा. अनुराग श्रेष्ठ, सुगर तथा थाईराईड विशेषज्ञ डा. दिपक मल्ल, स्त्री तथा प्रजनन रोग विशेषत्र डा. रिमा महहर्जन र  हाड जोर्नी रोग विशेषज्ञ डा. विवेक कोइरालाले परीक्षण गर्नु भएको थियो ।

कार्यक्रममा काभ्रे उद्योग वाणिज्य सघंका अध्यक्ष राजेन्द्र पसंक्षे, इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख राजन कोइराला, जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रमिला श्रेष्ठ,  वडा नम्बर ८ का वडा अध्यक्ष दानबहादुर मानन्धर, नेपाल पत्रकार महासघंका कार्यवाहक अध्यक्ष विनोद न्यौपाने लगायत विभिन्न क्षेत्र र संघ संस्थाको सहभागिता रहेको थियो ।