- रोहिणी घिमिरे
वरिष्ठ सर्जन डा. जगदीशलाल वैद्य काठमाडौंको बी एन्ड बी हस्पिटलका संस्थापकद्वयमध्ये एक हुनुहुन्छ । निजी क्षेत्रबाट पनि अस्पताल बन्न सक्छ भनेर देखाइदिने डा. वैद्यको संघर्ष, सफलता र रहस्यका कथाहरु समेटिएको ‘जगदीशका पाइलाहरु’ नामक पुस्तक हालै लोकार्पण भएको छ ।
डा. वैद्य स्वयंले लेखेको ४१६ पृष्ठको उक्त पुस्तकमा एउटा सफल डाक्टर बन्न कति संघर्ष गर्नुपर्ने रहेछ भन्ने उजागर गरिएको छ । साथै उहाँले आफ्नो जीवनका विविध रहस्य र रोमाञ्चकतालाई समेत पुस्तकमा समेट्नुभएको छ । उहाँले आफ्नो मन्तव्यमा नै लेख्नुभएको छ, ‘पाठकलाई मेरो पुस्तक पढ्दै जाँदा उत्सुकता बढ्दै जाओस् । कौतुहलता उत्पन्न गरोस् । कस्तो रहेछ त डाक्टर जगदीशलाल वैद्यको जिन्दगी भनेर सोचमग्न पारोस् ।’
४२ शीर्षकमा विभक्त उक्त पुस्तकको शुरुवात नै डा. वैद्यले आफ्नो जीवनको सबैभन्दा दुःखद पक्षबाट गर्नुभएको छ । मध्यरातमा घरबाटै छोरो अपहरणमा परेको र नगद एवं करोडौंका गरगहना लुटिएको उहाँको अवस्था पढ्दा पाठकको समेत आँसु नआऊला भन्न सकिन्न । त्यो घटना सम्झँदा अहिले पनि शरीरका रौँ ठाडा हुन्छन्, मुटु ढक्क फुल्छ भनेर उहाँले लेख्नुभएको छ । ५ करोड फिरौती मागेकोमा बल्ल ४० लाख नगद दिएर छोरा फिर्ता पाएको घटना निकै दर्दनाक छ ।
गहनाको झोला गह्रौँ भई चुँडिएला, राम्रोसँग लैजानुस् भनी लुटेरालाई झोला पनि दिनुपरेको उहाँको दुखेसो पढ्दा फिल्म हेरेझैँ लाग्छ । रातको समयमा डोरीको सहायताले २० फिटको पर्खाल नाघेर भित्र पसी छोरासहित २ करोडभन्दा बढीको हीरा, मोती, सुन, चाँदी, पैसा लग्ने को थिए ? अझै रहस्यमय छ । यस घटनाले नेपाल नै नबसौँ भन्ने लागेर डा. वैद्य अस्ट्रेलिया गएको कुराले नेपालको असुरक्षालाई इंगित गर्दछ । सहज बन्दै गएपछि मात्र डा. वैद्य नेपाल फर्किएर फेरि बी एन्ड बीमै सक्रिय हुन थाल्नुभएको पुस्तकमा उल्लेख छ ।
पैसाको पछि लागेर हिँड्ने होइन, पैसालाई पछि लगाउने हो भन्ने कुरा उहाँको पुस्तकबाट बुझ्न गाह्रो छैन । साथै थ्यौरी भएर मात्र हुँदैन, प्राक्टिकल हुनु जरुरी छ भन्नेमा दृढ देखिनुहुन्छ उहाँ । शायद यिनै कुरालाई महत्व दिएर होला, आज डा. वैद्यसँग नाम, दाम, इनाम र शुभेच्छुकहरु सबै छन् ।
२००७ सालमा भएको क्रान्तिमा एउटा मान्छेलाई खुट्टामा बाँधेर घिसार्दै ल्याएको र आफूले झ्यालबाट चियाएर हेरेको डोटीमा हुँदाको उहाँको बाल्यकालको कहानी निकै रोचक छ । प्युठान, बाग्लुङमा बिताएका दिनहरु पनि उत्तिकै चाख लाग्दा छन् । पछि पोखराको नदीपुर स्कुलमा पढ्दा खेल र मनोरञ्जनतिर आकृष्ट भएकाले ‘देवदास’ नामको फिल्म सातपटकसम्म हेरेको, त्यसैको प्रभावले आफूलाई दिलीपकुमारसँग दाँजेको प्रसंगहरु पनि उत्तिकै चाख लाग्दा छन् ।
नेपाल (काठमाडौं) कति टाढा र कस्तो होला भन्ने कौतुहलता जागेकोले भागेर जाने योजना बनाएको, खर्चका लागि सुन चोरेर लुकाएको तर पछि त्यो सुन भेट्न नसकेको, आखिर एसएलसी गरेपछि मात्र उच्च शिक्षाका लागि काठमाडौं छिरेको उहाँको स्मरण पठनीय छ । हाइस्कुल स्तरमा पढ्दा कट्टु र रबरको चप्पल लगाएर विद्यालय गएको कुरा पनि उहाँले छुटाउनुभएको छैन ।
आफू १६–१७ वर्षको हुँदा पोखरामा एउटा झ्यालमा देखिने गरेकी १०–११ वर्षकी केटी (रेहना) सँग पलाएको प्रेमको अङ्कुर झाङ्गिँदै गएको, उनैलाई देखाउनका लागि पैसाको अभाव हुँदाहुँदै कोट सिलाएको डा. वैद्यको कहानी कम रोचक छैन ।
भारतमा पढ्दाका संघर्षहरु पनि उत्तिकै टिठ लाग्दा छन् । स्कलरसिपमा एमबीबीएस पढ्न भारतमा पुगेर कलेजमा भर्नाको कुरा राख्दा भर्नै हुन नपाउने कुुराले डा. वैद्यको सपना चकनाचुर भएछ । आखिर ‘कन्फर्मेसन लेटर’ नभएर ‘रेफ्युज लेटर’ पो रहेछ भन्ने त्यहाँ पुगेपछि मात्रै थाहा पाएको उहाँले लेख्नुभएको छ । पछि दिल्लीस्थित नेपाली राजदूतावासको पहलमा मात्र भर्ना भएको कुरा पाठकलाई समेत टिठ लाग्दो छ ।
प्राक्टिकल कक्षामा लास चिर्नुपर्ने र हड्डी झुन्ड्याएर त्यसबारे सिक्नुपर्ने हुँदा तर्साउने पो हो कि भन्ने पनि लाग्थ्यो अरे ! साथै पञ्जा नलगाईकन लासका अङ्ग–अङग चलाएर त्यही हातले खाना खाँदा बान्ता नै आउलाजस्तो हुन्थ्यो अरे !
एमबीबीएस गरेर शान्ताभवनमा पुनः जागिर शुरु गरेपछि उहाँको विवाह भएछ । त्यो पनि सरसापट गरेर जम्मा ४२ सय रुपियाँमा विवाह सम्पन्न गरेको कुरा पुस्तकमा उल्लेख छ । पछि एफआरसीएस गर्न बेलायत पुगेको दिन होटलमा १० डलर तिरेर सुतेको तर खानाको पैसा तिर्न आफूसँग नपुग्ने भएकाले बाहिर निस्किई आलु, माछा र पानी खाएको कहानी त्यस्तै दयनीय छ ।
बेलायतमा जटिल अपरेसन गर्दा र सेक्स चेन्ज अपरेसनमा प्रख्यात डाक्टरसँग काम गर्दाका अनुभवको वर्णन पनि डा. वैद्यले गर्नुभएको छ । पछि नेपालमा फर्केर कुपन्डोलमा क्लिनिक खोली बिरामी जाँचेबापत साढे ७ रुपियाँ लिने गरेको कुरा अहिले कथाजस्तो लाग्छ ।
त्यसै गरी काठमाडौं नर्सिङ होममा काम गर्दागर्दै आफ्नै अस्पताल खोल्ने सोचमा अहिलेको बी एन्ड बी भएको जग्गा किन्न खोज्दा परेका लफडा र भवन बनाउन शुरु गर्दा पाइएका दुःखका फेहरिस्त पनि लामै छन् । आज जग खन्यो भापिल्ट हेर्दा जमिन भासिएर अर्कैतिर सर्ने गरेको र तनाव नै तनावमा बिल्डिङ ठडिएको कुराले पाठकलाई समेत दुःखी बनाउँछ । मिलेर मेडिकल कलेज खोलौं भनी एक फटाहाले झन्डै करोडौँको ऋणमा डुबाएको र पछि धेरै प्रयासले उसबाट उम्कन सकेको वर्णन पनि मार्मिक छ ।
गाडीले किचेर फियो र पिसाबथैली फुटेको, पेटमा रगत ब्लिडिङ भइरहेको २२ बर्से केटोलाई क्विक डिसिजनमा बी एन्ड बी हस्पिटलमा अपरेसन गरी बचाउन सकेको उहाँको कहानी तुरुन्त उपचार पाएमा मर्न लागेको मान्छे पनि बाँच्ने रहेछ भन्ने दरिलो प्रमाण बनेको छ ।
उहाँ संघर्षशील तर सौखिन पनि हुनुहुँदो रहेछ । निवृत्त जीवनमा मन बहलाउन धादिङमा ५० रोपनी जग्गा किनेर प्रिफ्याबको सुन्दर घर निर्माण गरी फार्मिङ कार्य अगाडि बढाउनुभएको छ । कुखुरा, बाख्रा पालनसहित फलफूलका अनेक बोटबिरुवाले भरिभराउ भएको सो स्थानको वर्णन पढ्दा जोसुकैलाई पनि हेर्न जाऊँजस्तो लाग्नु स्वाभाविक हो ।
कोभिड–१९ संक्रमणले डा. वैद्यका श्रीमान्–श्रीमती दुवैलाई नछोडेको कहानी उत्तिकै मार्मिक छ । अचम्म त के छ भने, कोभिडको संक्रमणबाट सख्त बिरामी भई हस्पिटलको बेडमा रहनुभएकी श्रीमती रेहनाले कृष्णाष्टमीको राति भगवान् कृष्णले प्रसादको रुपमा खिर दिएको स्वप्ना देख्नुभएछ । यता एक नर्सले कृष्णको पूजा गरेको प्रसादका रुपमा खिर ल्याएकी रहिछन् । बिहान सोही खिर खाएपछि उहाँलाई बिस्तारै सन्चो हुँदै गएको रहेछ । यो संयोग हो कि भगवान्कै इच्छा हो ? रहस्यमै छोडिदिनुभएको छ लेखक डा. वैद्यले ।
बी एन्ड बी अस्पताललाई अझ सुविधासम्पन्न बनाउने परिकल्पनाका बारेमा डा. वैद्य लेख्नुहुन्छ, ‘मैले रोबोटिक सर्जरी शुरुवात गर्ने उद्देश्य लिएको थिएँ । यो नेपालमा पहिलोपटक हुने थियो । संसारभरि फैलिएको कोभिडका कारण त्यो साकार हुन सकेन तर योजना भने छ ।’ ‘बी एन्ड बीमै काम गर्दागर्दै माथि जान मन छ’ भन्ने उहाँको वाक्यले यस हस्पिटलप्रति उहाँको अगाध स्नेह भएको पुष्टि हुन्छ ।
घोष्ट राइटिङ नेपालद्वारा प्रकाशित यस पुस्तकको आवरण डिजाइन नगेन्द्र लामा स्याङ्बोले गर्नुभएको छ । हल्का नीलो रंगको पृष्ठभूमिमा झन्डै पूर्णकदको डा. वैद्यको तस्वीर छ भने तस्वीरमाथि पुस्तकको नाम कुँदिएको छ । लेआउट/डिजाइन, कागजको स्तर र पुस्तकको साइज हेर्दा अन्तर्राष्ट्रिय मान्यतालाई पछ्याएको देखिन्छ । पुस्तकको भोलुम, गहनता र स्तरीयता हेर्दा यसको मूल्य रु. ७००।– ठिक्कै भए पनि सर्वसाधारणको भने पहुँचबाहिर भयो कि जस्तो लाग्नु स्वाभाविक नै हो ।
प्रतिक्रिया