सशस्त्र प्रहरी परिवार महिला संघद्वारा सर्भाईकल क्यान्सर प्रिभेन्ट वर्कसप आयोजना


न्युज अफ नेपाल, काठमाडौं ।

सशस्त्र प्रहरी परिवार महिला संघले कल्याणकारी कार्यक्रम अन्तर्गत नेपाल एपीएफ अस्पताल वलम्बुमा महिला स्वास्थ्य सम्बन्धि सर्भाईकल क्यान्सर प्रिभेन्ट विषयक दुई दिने प्रशिक्षणको आयोजना गरेको छ ।

क्यान्सर कियर नेपाल र प्रिभेन्ट क्यान्सर फाउनडेशन यू.एस.ए.को सहयोगमा संचालन गरिएको उक्त प्रशिक्षणको नेपाल एपीएफ अस्पतालका प्रमुख प्रा. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. रुपक महर्जन र क्यान्सर कियर नेपालका डा. मदन पियाले यही फागुन २० गते संयुक्त रुपमा उद्घाटन गरेका हुन ।त्यसअवसरमा क्यान्सर कियर नेपाल र प्रिभेन्ट क्यान्सर फाउनडेशन यू.एस.ए.ले दुर्गम क्षेत्रमा समेत लगेर महिलाहरुको पाठेघरको सेकाई गर्न मिल्ने पोर्टेवल थर्मल एब्लेशन मेशिन नेपाल एपीएफ अस्पताललाई हस्तान्तरण गरेको छ ।

सो प्रशिक्षणमा नेपाल एपीएफ अस्पतालका विषेशज्ञ डाक्टर प्रा.सशस्त्र प्रहरी उपरीक्षक सौजन्य कर्माचार्य, प्रोफेसर डा. जितेन्द्र परियार, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पतालका प्रोग्राम डाईरेक्टर प्रोफेसर डा. सन्धा चापागाई, प्रोफेर श्यामकुमार जोशी र क्यान्सर कियर नेपालका डा. मदन पियाले क्यान्सर हुन सक्ने कारण, सो बाट बच्ने उपाय, क्यान्सर लागेपछि उपचार सम्भव छ वा छैन तथा क्यान्सर लागेपछि गरिने विविध उपचारको विधि र रोकथामको उपायहरुको बारेमा समेत प्रशिक्षण गरे ।

सो समारोहमा नेपाल एपीएफ अस्पताल, बीर अस्पताल, ओम समाज अस्पताल, नेसनल क्यान्सर अस्पताल र द यूनिभरसिटी अफ टोक्योका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु गरी कुल ४० जनाको सहभागीता रहेको थियो ।