एमाले अध्यक्ष ओली गृह जिल्ला झापा जाँदै

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (शनिबार) गृह जिल्ला झापा जाने भएका छन् ।

बिहान ८:३० बजे भद्रपुर विमानस्थलबाट सोझै सालबारीस्थित शहीद स्मृति पार्कमा गएर बिहान ९:३० बजे शहीदको शालिकमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रम रहेको छ । बिहान ११ बजे दमकमा खाना खाने र ११:३० बजे कमल गाउँपालिका-६ खयरबारीमा रतुवा-मावा तटबन्धको शिलान्यास ओलीले गर्ने कार्यक्रम छ ।

१२:३० बजे बिर्तामोडको सिपी पार्टी प्यालेसमा आयोजना गरिएको प्रेस चौतारी नेपाल प्रदेश-१ को प्रथम अधिवेशनलाई सम्बोधन गर्ने र १:३० बजे बिर्तामोडको सिटी सेन्टरमा रहेको साई पार्टी प्यालेसमा आयोजित नेपाल खेलकुद महासंघ प्रदेश-१ को प्रथम अधिवेशनमा सम्बोधन गर्ने कार्यतालिका रहेको एमाले झापाले जनाएको छ ।

त्यसपछि बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आयोजित पाँचौं झापा गोल्डकपको उद्घाटन गरी खेल हेर्ने कार्यक्रम रहेको जनाइएको छ । ओली शनिबार साँझ ६ बजेको हवाई उडानबाट काठमाडौँ फर्कने कार्यक्रम छ ।