वडाले दियो ३० घरलाई इन्डक्सन चुल्हो



काभ्रे ।

धुलिखेल नगरपालिका–१० ले वडामा रहेका ३० घर–परिवारलाई इन्डक्सन चुल्हो वितरण गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदै गएकाले चुल्हो वितरण गरिएको हो ।

दलित समुदायको आयस्तर बढ्न नसकेकाले उनीहरूलाई थप व्ययभार पर्न नदिन स्थानीय सरकारको तर्फबाट कम खर्चमा खाना पकाउन सहज हुने चुल्हो उपलब्ध गराइएको वडाध्यक्ष पुष्प राउतले बताउनुभयो ।

‘ग्याँस तथा दाउराको प्रयोगमा इन्डक्सन चुल्हो सहज र सरल हुन्छ’, उहाँ भन्नुहुन्छ– ‘वडा कार्यालयले चालू आर्थिक वर्षका लागि दलित उत्थान कार्यक्रम शीर्षकमा विनियोजन गरेको ९९ हजार रकमबाट चुल्हो खरिद गरेको हो । केही रकम अपुग भएको छ । कार्यालयले अन्य शीर्षकबाट व्यवस्थापन गर्नेछ ।’ प्रतिचुल्हो भ्याटसहित ४ हजार ३४ रुपियाँका दरले १ लाख २३ हजार रुपियाँ खर्च भएको अध्यक्ष राउतले बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख विमला शर्माले धुलिखेल नगरपालिकाले विभिन्न परिषद् गठन गरी गरिबी न्यूनीकरणका लागि कार्य गरिरहेको बताउनुभयो । ‘हामीले सीप सिकाउँदै प्रविधि र सामग्री हस्तान्तरण गरिरहेका छौं’, उहाँ भन्नुहुन्छ– ‘धुलिखेल नगरपालिकाले चालू वर्षमा करिब ५ सयभन्दा धेरै इन्डक्सन चुल्हो वितरण गर्नेछ ।’

वडाध्यक्षको चेतावनी
वडाध्यक्ष पुष्प राउतले वडा कार्यालयमार्फत भएका विकास निर्माणमा अनियमितता भएको भए प्रमाणसहित देखाउन चुनौती दिनुभएको छ । केही दिनअघि राजनीतिक दलका स्थानीय कार्यकर्ताले अभद्र व्यवहार प्रदर्शन गरेको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभएको हो ।

वडा कार्यालयले गरेका गतिविधिहरु हरेक वर्ष सार्वजनिक सुनुवाइमार्फत सार्वजनिक गर्ने गरिएको, वडा कार्यालयले पाँच वर्ष योजना पुस्तक सार्वजनिक गरी कार्यान्वयन गरिरहेको, बजेट प्राप्त, खर्च र योजनाका बारेमा वडा कार्यालयले तथ्यसहितका विवरण पारदर्शी, जवाफदेही हुँदै सुशासन कायम गरेको वडाध्यक्ष राउतले बताउनुभयो ।

एक घर धारा अभियानमा वडाध्यक्षले विनियोजन बजेटको हिसाब नदेखाएको भन्दै सामाजिक सञ्जालमा केहीले प्रश्न उठाएका थिए । वडा कार्यालयले हरेक माघ २४ गते स्थानीय तथा राजनीतिक दलका प्रतिनिधिहरुलाई वडा कार्यालयमा निमन्त्रणा दिएर वडा कार्यालयले गरेका हिसाबकिताबका बारेमा जानकारी गराएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्