देश परिवर्तनका लागि युवाको भरोसा आवश्यक : मन्त्री गहतराज



भक्तपुर, (नेस) ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले सरकार युवा लक्षित नीति बनाएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय युवा परिषद् सानोठिमीको सातौँ स्थापना दिवसको अवसरमा बोल्दै उहाँले समाज र देश परिवर्तन र रुपान्तरणका लागि युवाहरुको विश्वास र भरोसा आवश्यक रहेको बताउनुभयो ।

समाजका हरेक क्षेत्रका असल कार्य र सत्कर्ममा युवालाई लगाउनुपर्नेमा जोड दिँदै मन्त्री गहतराजले युवालाई सत्कर्ममा डोर्याउनुपर्नेमा जोड दिनुभयो । युवाहरुलाई निराश हुने अवस्था आउन दिन नहुने चर्चा गर्दै उहाँले युवा मैत्री वातावरण बनाएर जानु आवश्यक रहेको औंल्याउनुभयो । युवा परिषद्ले युवालाई सपना देखाउने र मूर्त रुप दिने नीति योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो– ‘युवा कोषबाट तालिम दिने काम मन्त्रालयपिच्छे नै छ, यो छरिएर रहेको कार्यक्रम र बजेट एकत्रित गर्दै परिषद्बाट गर्ने गरी योजना बनाइरहेका छौँ ।’देशका तीन थरीका युवाहरू रहेको चर्चा गर्दै मन्त्री गहतराजले भन्नुभयो– ‘देशमा केही गर्न सम्भव छैन भनेर विदेश जानेहरू, विदेश गएर पनि केही गर्न नसकिने रैछ भनेर देशमै फर्किएर सफल भएका युवाहरू, जिन्दगीमा केही गर्न सकिँदैन भनेर निराश भएका युवाहरू छन् यी सबै प्रकारका युवालाई सम्बोधन हुने गरी युवा लक्षित राष्ट्रिय नीति बनाएर अगाडि जानु आवश्यक छ ।’

उहाँले युवाहरूले असल सोच र कर्म गरे देश र जनताको भलो हुने बताउनुभयो । समाजका हरेक क्षेत्रका असल कार्य र सत्कर्ममा युवालाई लगाउनुपर्नेमा जोड दिँदै मन्त्री गहतराजले युवालाई सत्कर्ममा डोर्याउनुपर्नेमा जोड दिनुभयो ।

युवाहरूलाई निराश हुने अवस्था आउन दिन नहुने चर्चा गर्दै उहाँले परिषद्ले युवालाई सपना देखाउने र मूर्त रूप दिने नीति योजना ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालीको औषत आयु पनि बढिरहेको बताउँदै युवाको उमेर समूह बढाउनुपर्ने र रोजगारीमा अवकाशको अवधि ५८ वर्षबाट हटाएर ६० वर्षमा पुर्याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रमका सभापति एवं परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत, परिषद्का पूर्वअध्यक्ष एवं एमालेका नेता माधव ढुङ्गेल, कांग्रेसका नेता नयनसिंह महर, नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा, नेकपा समाजवादीका नेता दिलु पन्त, जसपाका नेता बिक्की यादव, लोसपाका नेता मनीष मिश्र परिषद्का प्रशासकीय प्रमुख रमाकान्त शर्मालगायतले युवाको व्यवस्थापन चुनौतीपूर्ण रहेको भए पनि युवा समृद्धिका संवाहक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्