त्रिवि सेवा आयोगमा तालाबन्दी



काठमाडौं ।

एक महिनादेखि आन्दोलनरत त्रिभुवन विश्वविद्यालय आंशिक शिक्षकले सबै आंगिक क्याम्पसको क्याम्पस प्रमुख, प्रशासन र लेखा शाखामा तालाबन्दी गरेका छन् । त्रिविका प्राध्यापक, उपप्राध्यापक र अन्य शिक्षक सरहको तलब माग गर्दै तालाबन्दी गरेका हुन् ।

तालाबन्दीका कारण देशका ६१ आंगिक क्याम्पसप्रमुख, प्रशासन र लेखामा ताला खुल्न सकेको छैन । आन्दोलनलाई सशक्त बनाउने चेतावनी दिँदै तालाबन्दी गरेका हुन । यसअघि, त्रिबिका उपकुलपति, रेक्टर, रजिस्ट्रार र सेवा आयोगमा तालाबन्दी गरिसकेका छन् । आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुन माग गर्दै लगातार आन्दोलनमा उत्रिएका आंशिक शिक्षकले देशभर ४ हजार ५ सय दरबन्दी खाली हँदा समेत विज्ञापन खुला नगरेको जनाएको छ ।

वार्ताबाट भागेर समस्या समाधान हुन नसक्ने चेतावनी दिँदै आंशिक शिक्षकले जारी गरेको विज्ञप्तिमा भनिएको छ–ज्यालाको माग सम्बोधन नभएसम्म ताला नखोल्ने अडान राखेका छन् । आंशिक शिक्षकका अध्यक्ष गोकुल लेछर्बो लिम्बू, केन्द्रीय सहअध्यक्ष राजेन्द्र आचार्य र अर्का सहअध्यक्ष एलबी लिम्बूद्वारा हस्ताक्षरित विज्ञप्तिमा १७ वर्षदेखि ज्लादारी शिक्षकको रूपमा कार्यरत शिक्षकको माग पूरा नभएसम्म सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

उनीहरुले त्रिविले वर्षौसम्म विज्ञापन नगरेर अन्याय गरेको आरोप लगाएका छन् । उनीहरूले नेपालको संविधानको धारा ३४ मा उल्लेख गरिएको उचित ज्याला पाउने अधिकारलाई सुनिश्चित गर्न माग गरेका छन् ।

उता नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगमा लगाइएको ताला वार्ता र सहमतिका आधारमा तत्काल खुला गर्न माग गरेको छ । संगठनका अध्यक्ष सुनिता बरालद्वारा जारी विज्ञप्तिमा आयोगले प्रकाशित गरेको कार्यतालिका अनुसार निर्धारत समयमै उपप्राध्यापक र अरू पदको परीक्षा सञ्चालन गर्न माग गरेको छ ।

खुला प्रतिस्पर्धाबाट डराएर आंशिक शिक्षकको नाममा तालाबन्दी गरी सेवा आयोगको काम कारबाहीलाई प्रभावित गर्नु प्राज्ञिक क्षेत्रको अप्राज्ञिक कार्य भएको जनाउँदै तल्काल तालाबन्दी खोल्न चेतावनी दिनुभएको छ । ताला नखोले आन्दोलनमा जाने चेतावनी दिँदै अराजकता अन्त्य गर्नुपर्ने उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ– ‘त्रिविमा कार्यरत आंशिक शिक्षकहरूबाट नै तालाबन्दी गरेर योग्य शिक्षकलाई विश्वविद्यालयमा प्रवेश गर्न अवरोध गर्ने कार्य शैक्षिक अराजकताको पराकाष्टा हो ।’ अनेरास्ववियुले कुनै डर, त्रास र दबाबमा नगरी स्वच्छ ढंगले परीक्षा सञ्चालन सेवा आयोगलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्