युक्रेनबाट ३३५ नेपाली बाहिरिए, कुन देशमा कति ?

0
Shares

सरस्वती कर्माचार्य, काठमाडौं ।

युक्रेनमा आक्रमण गरेको सातौं दिन बुधबार रुसले ‘ब्लाक सी’मा रहेको युक्रेनको प्रमुख बन्दरगाह एवं दक्षिणी युक्रेनी शहर खेरसन कब्जामा लिएको घोषणा गरेको छ । यद्यपी खेरसनका स्थानीय अधिकारीहरूले भने खेरसन रुसको कब्जामा गई नसकको तर रुसी सेनाको घेराबन्दीमा रहेको जनाएका छन् ।

रुसले युक्रेनको राजधानी किभ, उत्तरपूर्वी शहर खारकिभलगायत थुप्रै शहरहरूमा आक्रमण शुरु गरिसकेको छ । रुसको रक्षा मन्त्रालयले युक्रेनको राजधानी किभमा विशेषगरी सुरक्षा र संचार क्षेत्र रहेको स्थानहरूमा आक्रमण हुनसक्ने भन्दै त्यहाँका बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ लाग्न आह्वान गरिसकेको छ ।

हुन त रुसले युक्रेनसँग दोस्रो चरणको शान्ति वार्ताका लागि आफू तयार रहेको बताएको छ । तर युक्रेनले भने बुधबार रातिसम्म कुनै प्रतिक्रिया जनाएको छैन । शरणार्थीसम्बन्धी संयुक्त राष्ट्र संघीय एजेन्सी युएनएचसीआरले आक्रमण शुरु भएयता करिब ८ लाख ७५ हजार मानिस युक्रेनबाट बाहिरिएको जनाएको छ ।

यसैबीच युक्रेनबाट बुधबारसम्ममा ३ सय ३५ जना नेपाली सीमा क्षेत्रका देशमा पुगिसकेका छन् । युक्रेनमा रहेका नेपालीहरूको संख्या आधिकारीक रुपमा कसैलाई जानकारी छैन तर ४ सयभन्दा बढी नेपाली त्यहाँ रहेको अनुमान गरिएको छ । नेपालीहरू युक्रेनबाट बाहिरिने क्रम जारी नै छ ।

जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले नेपाल समाचारपत्रसँग कुरा गर्दै अहिलेसम्म पोल्याण्डमा २ सय ३७ जना, स्लोभाकियामा ५७, रोमानिया ३३, हंगेरीमा ४ र मलदोभामा ४ गरी जम्मा ३ सय ३५ जना नेपाली युक्रेनबाट सुरक्षित बाहिरिसकेको जानकारी दिनुभयो ।

बुधबार राति नेपाल समाचारपत्रले राजदूत खड्कासँग सम्पर्क गर्दा उहाँ र गैर आवासिय नेपाली संघ, पोल्याण्डका अध्यक्ष जीवनकुमार केसी पोल्याण्ड सीमा मेदिकामा हुनुहुन्थ्यो । मेदिकाको पारिपट्टी युक्रेनी सीमामा ६०–७० जना नेपाली रोकिएको खबर आएकोले राजदूत खड्का पारिपट्टी जाने कोशिसमा हुनुहुन्थ्यो भने अध्यक्ष केसी बिहानदेखि मेदिकामा अड्किएका २ जना नेपालीलाई लिएर सीमा क्षेत्रमा रहेको होल्डिङ सेन्टरतर्फ लाग्दै हुनुहुन्थ्यो ।

अर्कोतर्फ नेपाल समाचारपत्रले स्लोभाकियामा सम्पर्क गर्दा ‘युक्रेन नेपलिज’ का संयोजक जयप्रसाद शिवाकोटी युक्रेनबाट स्लोभाकिया आईपुगेका २८ जना नेपालीको बन्दोबस्त मिलाउँदै हुनुहुन्थ्यो ।

जर्मनीका लागि तत्कालिन नेपाली राजदूत रमेशप्रसाद खनालले युक्रेनबाट नेपालीलाई सुरक्षित फर्काउन गैर आवसिय नेपालीको समूहले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । उहाँले जर्मनी दूताबासमा जनशक्तिको कमीले गर्दा संकटको बेलामा सोचेअनुरुप तदारुकता देखाउन गाह्रो परिरहेको जिकिर गर्दै परराष्ट्र मन्त्रालयले यसतर्फ ध्यान दिनु अति आवश्यक भएकोमा जोड दिनुभयो । यतिखेर जर्मनी दूताबासमा राजदूतसमेत केवल २ जना कुटनीतिज्ञ मात्रै कार्यरत् छन् ।