धादिङ अस्पतालमा पहिलो पटक एपेन्डिसाईटिस सेवा सुरु


सीताराम अधिकारी, धादिङ । 
धादिङ अस्पतालमा एपेण्डिसाईटिस अपरेसन पहिलाे पटक सेवा सुरु भएकाे छ । अस्पतालमा आधुनिक अपरेसन कक्ष,  आफ्नै अक्सिजन प्लान्ट निर्माण र दक्ष जनशक्ति सर्जन डाक्टरको व्यवस्थापन पछि सो सेवा सुरु गरिएको हो।
धादिङमा ज्याला मजदुरी गरेर बस्ने दोलखा जिल्ला निवासी एक २४ वर्षीय खड्गबहादुर मगरको पहिलो सफल अपरेसन गरिएको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम विकले बताउनुभयो । पेट दुखेर  अस्पताल आएका मजदुर बिरामीको एपेन्डीसाईटिस डाईग्नोसिस भई ओपन एपेन्डेक्टोमीको अप्रेसन गरिएको थियो ।
एपेन्डिसाईटिसको मेडिकल सर्जन डा. शंकरराज लामिछाने, डा.रामचन्द्र रिजाल, स्टाफ नर्स रुबि श्रेष्ठ, अनमी सुरुची लामा र सहयोगी सन्जु रिजालको टिमले अपरेसन गरी सफल भएको डा. लामिछानेले बताउनुभयो । अपरेसन पछि बिरामीको अवस्था सामान्य रहेकोले डिस्चार्ज गरिएको छ । धादिङ अस्पतालले एपेण्डिसाईटिस, हर्नियाँ, हाइड्रोसिल, जटिल प्रशुति अपरेसन सेवा समेत संचालन हुँदै आएको छ ।