महाशिवरात्रिमा  ईशानेश्वर मन्दिरमा भक्तजनकाे भीड 

0
Shares

काठमाडौं । 

लमजुङको ईशानेश्वर (सन्तानेश्वर) महादेव मन्दिरमा बिहान ३ बजेदेखि भक्तजनहरूको भीड लागेको छ । महाशिवरात्रि पर्वमा मन्दिरमा आज (मंगलबार) दर्शनार्थीको ठुलो भीड लागेको मन्दिर क्षेत्र विकास समितिका महासचिव कृष्ण बरालले बताउनुभयो ।

अघिल्लाेको वर्षमा झैं यस वर्ष पनि महाशिवरात्रिका दिन मन्दिरमा आउने भक्तजनहरू देशका विभिन्न ठाउँबाट दर्शनार्थी आएका बरालले बताउनुभयो – मन्दिर दर्शनका लागि लमजुङ, कास्की, तनहुँ, चितवन, पर्वत, स्याङ्जा, बाग्लुङ, नवलपरासी, काठमाडौं, धादिङ, गोर्खा, गुल्मी, हेटौँडालगायत अन्य जिल्लाबाट भक्तजनहरू आएको बताउनुभयो ।

विगतका वर्षमा मिदिम, मादी नदीमा नुहाउने गरिन्थ्यो तर अहिले मन्दिर छेउमै १ सय आठ वटा धारामा मानिसहरु नुहाउनेको भीड लागेको उहाँले बताउनुभयो । शिवरात्रिमा सन्तानको इच्छा राखी ईशानेश्वर महादेव मन्दिर परिसरमा रातभर उभिएर ठाडो बत्ती बाल्ने करिब १ हजार र  बसेर बत्ती बाल्ने भक्तजनहरू २ हजार भएको जानकारी दिनुभयो । ठाडो बत्ती बाल्ने भक्तजनको लागि टिकट रु. ५ सय र बसेर बत्ती बाल्ने भक्तजनको लागि टिकट रु. ३ सय रहेको बरालले बताउनुभयो ।  यस मन्दिरमा आई बत्ती बालेर सन्तान वा पुत्र लाभ भएपछि पुनः आई महादेबलाई सन्तान देखाउन भक्तजनसमेत आउने गरेको समेत बरालले जानकारी दिनुभयो ।

विवाह भएको लामो समयसम्म सन्तान नभएका जोडीहरूका साथै अन्य मनोकामना पनि पूरा हुने विश्वासले बत्ती बाल्नेहरू यो मन्दिरमा आउने गरेको बरालले बताउनुभयो । करापुटारको मध्यनेपाल नगरपालिका – ७ मा रहेको ईशानेश्वर महादेव मन्दिरमा शिवरात्रीका दिन भक्तजनहरूको निकै ठुलो भिड लाग्ने मन्दिरमा पर्दछ । मन्दिरमा बिहानदेखि नै शिव, पार्वती, गणेश भगवान्को पूजा आराधना गर्नुका साथै दर्शन गर्ने दर्शनार्थीको भीड लागेको बरालको भनाई छ । अघिल्लो वर्षमा जस्तै भक्तजनको संख्या धेरै रहेको उहाँले जानकारी दिनुभयो ।
मन्दिर परिसरमा मदिरा र माछा, मासु परिकार बेचबिखनमा रोक लगाइएको समेत बरालले बताउनुभयो ।

ईशानेश्वर महादेवको वरदानपछि सन्तान प्राप्ति भएपछि मन्दिरमा आई महादेवलाई सन्तान देखाउनेहरु पनि थुप्रै भेटिन्छन् । तीमध्येकी एक हुन् कास्की काउँखोला घर भएकी  अन्जना खनाल । उहाँ भन्नुहुन्छ – बिहे भएको ७ वर्षसम्म बच्चा भएन् । साथीले मलाई ईशानेश्वर (सन्तानेश्वर) महादेव मन्दिरमा बत्ती बाल्यो भने बच्चा जन्मिन्छ जाऊ एकपल्ट गएर बत्ती बल भनेपछि म यहाँ आएर बत्ती बाले । त्यसपछि मेरो छोरा जन्मियो । धार्मिक विश्वासका साथ उनले इशानेश्वर महादेवको मन्दिरमा २०७१ सालमा ठाडो बत्ती बालेको उहाँले जानकारी दिनुभयो । बत्ती बालेसँगै ०७३ सालमा छोराको जन्म भएको खनाल बताउनुहुन्छ ।  उहाँ यस वर्ष श्रीमानको साथमा छोरा सनिसलाई लिएर महादेवको दर्शन गर्न ईशानेश्वर मन्दिर आई पुग्नुभएको छ ।

विवाह भएको लामो समयसम्म सन्तान नभएका जोडीहरूका साथै अन्य मनोकामना पनि पुरा हुने विश्वासले शिवरात्रिमा बत्ती बाल्न धेरै भक्तजनहरू मन्दिरसम्म आउने गरेको करापुटार महादेव क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र घिमिरेले बताउनुभयो । सन्तान प्राप्तिको आशका साथै मनोकाङ्क्षा पुरा हुने भएकाले ठाडो बत्ती बाल्न तनहुँकी दिपा सुनार पनि लमजुङको करापुटार आएको बताउनुभयो ।  करिब ६ सय वर्ष अघि मन्दिरको निर्माण भएको स्थानीय बासिन्दा बताउँछन् । प्राचिनकालमा हरिनारायण पोखरेलद्वारा धानको बीउ राख्न गोरु जोत्दा शिवलिङ्ग जोतिन गई रगत बग्न थालेको र हलीसहित २ गोरुको समेत मृत्यु भई सो ठाउँमा शिवलिङ्ग उत्पत्ति भएको किंवदन्ती रहेको अध्यक्षले बताउनुभयो ।