शिव महापुराणमा शिवको महिमा



  • प्रेममान डंगोल

शिव महापुराणमा मुख्य रुपले शिव शक्ति र शिव महिमाको विशेष रुपमा वर्णन गरिएको छ । पुराणमा शिवलाई त्याग, तपस्या, वात्सल्य र करुणको मूर्तिको रुपमा लिइएको छ । शिव चाँडै सहज रुपमा प्रसन्न हुने र मनोवाञ्छित फल दिने देवता हुनुहुन्छ । शिव पुराणमा शिवको जीवन चरित्रका साथै रहनसहन, शुभ विवाह र पुत्रहरुको उत्पत्ति भएको विषयमा पनि विशेष रुपमा वर्णन गरिएको छ ।

भगवान् शिव सदा कल्याणकारी, लोकापकारी र हितकारी हुनुहुुन्छ । त्रिदेवमा शिवलाई संहारका देवताका रुपमा पनि मानिन्छ । शिवको उपासना अत्यन्तै सजिलो मानिन्छ । अन्य देवताहरुलाई जस्तै शिवलाई बास्ना आउने फूलको माला, मीठा–मीठा परिकार र मिठाईहरु पनि चढाउनुपर्दैन । शिवलाई त चोखो जल, बेलपत्र, काँडैकाँडा भएको कसैले नखाने रुखको धतुरो चढाएमा उहाँ धेरै प्रसन्न हुनुहुन्छ । भगवान् शिवलाई राम्रा–राम्रा पोशाक र गहना पनि चाहिँदैन । उहाँ त औघड बाबा नै हुनुहुन्छ ।

जटा भएका, घाँटीमा नागले बेरिएका रुद्राक्षका माला पहिरिएका, शरीरमा बाघको छाला बेरेर बसेका, शरीरभरि मसानको खरानी घसेका अनि हातमा त्रिशूल समाएका शिवले सारा संसारलाई नै आफ्नो पदचाप र डमरुको कर्णभेदी ध्वनिले नचाइरहेको हुनुहुन्छ । त्यसैले भगवान् शिवलाई नटराजको संज्ञा पनि दिइराखेको हो । भगवान् शिवको ताण्डव नृत्य अत्यन्तै भयावह डर लाग्दो भए पनि नृत्यनाथ नाटेश्वर नासः देवताको सौम्य रुपले नृत्यको प्रादुर्भाव भएको हो, जुन आज आएर विश्वमा नृत्यका विभिन्न किसिमका विधाहरु विकसित भई नयाँ–नयाँ किसिमले प्रदर्शन भइरहेको छ ।
भगवान् शिवको भेषभूषाले जीवन र मृत्युको बोध गराइराखेको छ । शिरमा गंगा र चन्द्रमा रहेको जीवन र कलाको प्रतीक हो । शरीरमा मसानको भष्मले मृत्युको प्रतीक दर्शाइरहेको छ । यो जीवन गंगाको धारजस्तै बग्दै–बग्दै गएर अन्त्यमा मृत्युको सागरमा लीन हुन पुग्छ ।

रामचरित मानसमा तुलसी दासले भगवान् शिवलाई ‘अशिव वेषधारी’ र ‘नाना वाहन नाना भेष’ वाला गणहरुका अधिपति भन्नुभएको छ । भगवान् शिवलाई जनसुलभ र आडम्बरविहीन भेषधारण गर्ने पनि भनिन्छ ।

भगवान् शिवलाई ‘नीलकण्ठ’ पनि भनिन्छ । यसको कारणमा समुद्र मन्थनको समयमा जब देवगण र असुरगणहरु अद्भूत र बहुमूल्य सामानहरु हात पार्न व्याकुल भइरहँदा कालकूट विष निस्कियो । यसले गर्दा त्यहाँ उपस्थित सबैजना झस्के । उक्त विष ग्रहण गर्न कोही पनि तयार भएनन् । उक्त महाविनाशकारी विष देखेर सबैजना त्राहिमाम भए । अनि भगवान् शिवले जगत् कल्याणका लागि उक्त महाविष पिएर आफ्नो घाँटीमा अड्काइदिनुभयो । उक्त विषको प्रभावले शिवको घाँटी नीलो हुन पुगेकाले भगवान् शिवलाई नीलकण्ठ भन्ने गरियो । यस्ता परोपकारी र कल्याणकारी शिवको चरित्र वर्णन गर्न नै शिवपुराणको रचना गरिएको हो । यो पुराण खास गरेर पूर्णरुपले भक्ति ग्रन्थ हो । यो पुराणमा कलियुगका पापकर्मले ग्रसित मानिसहरुको मुक्तिका लागि शिवभक्तिको मार्गदर्शन गरिएको छ ।

मानिसहरुले निष्काम भावले आफ्नो सम्पूर्ण कर्म भगवान् शिवलाई अर्पण गर्नुपर्छ । वेद र उपनिषदमा प्रणव ॐ को जप मुक्तिको आधार हो भनिएको छ । प्रणवको अतिरिक्त गायत्री मन्त्रको जप पनि शान्ति र मोक्षकारकको रुपमा लिइएको छ । यो पुराणमा आठवटा संहिताहरु उल्लेख गरिएको छ, जुन संहिताहरु मोक्षकारक हुन । यी संहिताहरु यस प्रकारका छन् । (१) विद्येश्वर (२) रुद्र संहिता (३) शतरुद्र संहिता (४) कोटि रुद्र संहिता (५) उमा संहिता (६) कैलाश संहिता (७) वायु संहिता (पूर्व भाग) (८) वायु संहिता (उत्तर भाग) ।

यो संहिताको विभाजनका साथै सर्वप्रथम शिव पुराणको महात्म्य वर्णन गरिएको छ । यही प्रसंगमा चञ्चुला नामकी एउटी पतीत महिलाको कथा छ । उक्त महिलाले शिव पुराण सुनेर आफूले सद्गति प्राप्त गरिसकेपछि आफ्ना कुमार्गमा लागेका श्रीमान्लाई पनि मोक्ष प्राप्त गरिदिन्छिन् । त्यसपछि शिव पूजाको विधि उल्लेख गरिएको छ । शिवको कथा सुन्नेहरुले उपवास अर्थात् भोकै बस्नुपर्दैन भनिएको छ । किनभने भोको पेटले कथामा ध्यान जाँदैन । साथै गरिष्ठ भोजन, बासी खाना, वायु विकार गर्ने दाल, भ्यान्टा, मुला, प्याज, लसुन, गाजर, मासु र रक्सी सेवन गर्नुहुँदैन भनिएको छ ।

शैव दर्शनले शिवलाई संहारकर्ताको रुपमा स्वीकार गरे पनि त्यसको कारक तत्व सृष्टि मानेकाले प्रकृति र पुरुषको संगम शिवलिंगमा देखाइएको हो । झट्ट हेर्दा शिवलिंग शैव सम्प्रदायका अनुयायीहरुले मात्र पूजा गर्ने देवताजस्तो लाग्दछ । तर शिवलिंगको माथिल्लो भाग रुद्र, बीचको भाग विष्णु र सबैभन्दा तल्लो भाग ब्रह्म हो । जलहरी स्त्री शरीरको प्रतीक हो । मुखरहित सादा वा पञ्चमुखी शिवलिंग पूजा गर्दा देवीसहित त्रिदेवको पूजा गरिने भएकोले पनि शिवलिंग स्थापना र पूजा व्यापक भएको हो ।

पञ्चतत्व पृथ्वी, जल तेज, वायु र आकाशको प्रतीककै रुपमा शिवका पञ्चमुख शिवलिंगमा कुँदिने विधान छ । तत्पुरुष (वायुतत्व), सद्योजात (पृथ्वीतत्व), वामदेव (जलतत्व) र ईशान (आकाशतत्व) लाई क्रमशः पूर्व, पश्चिम, उत्तर, दक्षिण र आकाशतर्फ कुँदिन्छ । शिवलिंगको पञ्चमुखलाई महादेव मुख, नन्दी मुख, उमा मुख, भैरव मुख र सदाशिव मानेर पूजा गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्